काठमाडौं । चाँगुनारायणस्थित नेपाल इन्जिनीयरिङ कलेजका विद्यार्थीहरूलाई समय अनुसार पाठ्यक्रम र शीपको विकास गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको तालिम दिइएको छ ।
कलेजको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स तथा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनीयरिङ विभागको अन्तिम सेमेस्टरमा अध्यनरत विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको पीएलसी र स्काडाको एक महिने तालिम दिइएको हो ।
दक्ष जनशक्ति उत्पादन हुन इन्डष्ट्री र एकेडेमियाको उत्तिकै भूमिका रहेको हुँदा पाठ्यक्रममा समावेश नभए पनि समयको माग र बजारलाई हेरेर नन–क्रेडिट कोर्षको रूपमा तालिम अगाडि बढाइएको कलेजका कार्यवाहक प्रिन्सिपल दुर्गा प्रसाद भण्डारीले बताए । विद्यार्थीहरूलाई विषयगत ज्ञानमा अझ पोख्त बनाउनका लागि कलेजले तालिम चलाएको उनको भनाइ छ ।
नेपालमै पहिलो पटक कलेज स्तरमा यति लामो तालिम दिन पाउँदा आफूहरू खुसी रहेको कलेजको इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स विभागका विभागीय प्रमुख अमित साह र यमकृष्ण पौडेलले बताए । अटोमेसन क्षेत्रमा बढी जनशक्तिको माग रहेको र यो कोर्षले विद्यार्थीहरूलाई शीपसँग जोड्ने हुँदा जागिर प्राप्तिका लागि थप सहयोग पुग्ने उनीहरूको भनाइ छ ।
अटोमेसनको दुनियाँमा पीएलसीको भूमिका अत्यन्त महत्वपूर्ण भएको भन्दै विद्यार्थीहरूले तालिममा सिकेका कुराहरू व्यावहारिक रूपमा प्रयोग गर्ने बताए । कलेज स्तरमै यस्ता सीपयुक्त तालिमहरू पाउँदा अध्ययन पश्चात व्यावसायिक क्षेत्रमा अगाडि बढ्न धेरै सहयोग पुग्ने उनीहरूको विश्वास छ ।
कलेजका करिब ५० जना विद्यार्थीहरूले एक महिनासम्म तालिममा उत्साहजनक रूपमा सहभागिता जनाएका थिए । जापान, इन्डियाको मित्सुबिशी कम्पनी र नेपालको फ्याक्ट्री सोलुसनसँगको सहकार्यमा तालिम सञ्चालन गरिएको थियो ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा पोखरा विश्विवद्यालयबाट सम्बन्धन प्राप्त शिक्षा मन्त्रालयद्वारा गठित नेपाल इन्जिनीयरिङ कलेज सञ्चालन समितिमार्फत सञ्चालित कलेजले विद्यार्थीहरूलाई समय–समयमा विषयगतरूपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूसँगको सहकार्यमा तालिम र अनुसन्धानहरू गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS