तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा स्वर्णिम वाग्लेले अनुशासन र विधिमा टेकेर पार्टीमा नेतृत्व छान्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
रास्वपा व्यास नगर समितिको आज दमौलीमा आयोजित भेलालाई सम्बोधन गर्दै डा वाग्लेले पार्टीमा अनुशासन र विधिको शासनलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका हुन् ।
पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले प्राथमिकता नदिने वाग्लेको भनाइ थियो । उनले भने, ‘राजनीतिक दलभित्र गुटबन्दी, नेताको चाकरी गर्ने प्रवृत्ति हुन्छ, हाम्रोमा पनि त्यस्तो प्रयास हुनसक्छ । त्यसमा हामी सचेत छौँ ।’
तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रहनुभएका वाग्लेले भ्रष्टाचार, विकृति र कुशासन भित्र्याउन खोज्ने तत्वविरुद्ध सचेत हुँदै त्यस्ता तत्वलाई हटाउन निर्मम बनिने उल्लेख गरे । पार्टीमा देशैभर सर्वसाधारण जनताको आकर्षण बढेको बताउँदै आगामी चुनावमा रास्वपाको लहर आउने वाग्लेले दाबी गरे ।
सङ्घीयताप्रति पार्टीको स्पष्ट धारणा रहेको बताउँदै उनले नेपाललाई भार पार्ने खालको संरचना आवश्यक नरहेको बताए । आफूहरू सङ्घीयताको विरोधी नभएको उनले स्पष्ट गरेका छन् ।
FACEBOOK COMMENTS