मकवानपुर । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले देशको समृद्धिको संवाहक निर्माण व्यवसायी रहेको बताएका छन् ।
आज शनिबार हेटौँडामा निर्माण व्यवसायी सङ्घ मकवानपुरको २४औँ वार्षिकसभामा उनले देशको समग्र भौतिक संरचना निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहने भएकाले राज्यले व्यवसायीलाई सहज ढङ्गले काम गर्ने वातावरण बनाइदिनुपर्ने बताए ।
उनले सार्वजनिक खरिद ऐन र नियमावली पूर्वाधार र व्यवसायीमैत्री नभएको बताउँदै उक्त ऐन संशोधनको आवश्यकता रहेको उल्लेख गरे । उनले महासंघ अब साना व्यवसायीलाई पनि साथमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उपभोक्ता समितिमार्फत काम गर्दा ध्यान दिन व्यवसायीलाई आग्रह गर्दै स्रोत सुनिश्चितता नभएका काम योजनामात्रै राख्न आग्रह गरे । ‘स्रोत सुनिश्चिता नभएका योजनाले गर्दा हामी समस्यामा बढी परेका छौँ । त्यसतर्फ तीन तहकै सरकारले ध्यान दिनुपर्छ,’ अध्यक्ष सिंहले भने ।
उनले देशभर २४ हजार निर्माण व्यवसायी रहेको र आठ–दश हजारले कम बजेटका आयोजना मात्रै ठेक्का लिने र काम नगर्ने गरेकाले निर्माण व्यवसायी बदनाम हुनु परेको समेत उल्लेख गरे । सरकारसँग चरणबद्ध आन्दोलन गरेर म्याद थपका विषयमा सहमति जनाए पनि सरकारको निर्देशन कर्मचारीले नमान्दा पनि निर्माण व्यवसायी समस्यामा परेको उनको भनाइ थियो ।
FACEBOOK COMMENTS