काठमाडौं । इन्द्रेणी सांस्कृतिक विकास केन्द्रका अध्यक्ष एवम् लोक तथा दोहोरीमा आधारित अत्यन्तै लोकप्रिय टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’का सञ्चालक लोकगायक कृष्ण प्रसाद कँडेलले आफूलाई सिध्याउन अनेक खेल सुरू भएको बताएका छन् ।
खासगरी कलाकार शर्मिला श्रेष्ठले आफूमाथि लगाएको यौन दुर्व्यवहार (सेक्सुअल ह्यारेसमेन्ट) को आरोपमाथि आक्रोशित हुँदै उनले ह्यारेसमेन्ट भएको तीन वर्षसम्म केही नबोल्ने र अहिले बोल्नुको अर्थ के हो भन्दै प्रश्न गरेका हुन् । ‘शर्मिला बहिनीले ममाथि तीनवर्ष अगाडि ह्यारेस्मेन्ट गरेको आरोप लगाउनु भएको छ’, कँडेलले पत्रकार सम्मेलनमा भने, ‘त्यस्तो हो भने यो तीन वर्ष के हेरेर बस्नु भयो किन बोल्नुभएन ?’
उनले अगाडि भने, ‘अहिले जसलाई जे–जे भने पनि हुने भयो यो देशमा । शर्मिला बहिनी ! यदि मैले तपाईंलाई ह्यारेसमेन्ट गरेको थिएँ भने तीन वर्ष के हेर्नुभयो भन्नुस् त ? म विदेश जाँदा तपाईं एयरपोर्टमा आएर ‘भगवान् दाइ’ भन्दै ढोग गर्नुभएको थियो । अहिले राक्षस भन्ने हो भने त्यो बेला किन भगवान् भन्नुभयो ? त्यही बेला मलाई तैंले किन यसो गरिस् भन्नु पर्दैन ?’
हिजो शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै शर्मिला श्रेष्ठ र कविता लामाले आफूहरूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएका थिए । त्यस विषयमा स्पष्ट गर्दै कँडेलले पहिले आफूलाई भगवान् भन्ने व्यक्तिहरूले नै अहिले राक्षस भनिरहेकोमा आश्चर्य प्रकट गरे । कसैलाई पनि आफूले नराम्रो नजरले नहेरेको उनले स्पष्ट पारेका छन् । आफूमाथि लागेको विभिन्न आरोप कपोकल्पित र झुटो रहेको उनको भनाइ छ ।
इन्द्रेणीबाट हटाइएका ६ जना कलाकारले आफूहरूलाई अन्यायमा पारिएको भन्दै कँडेलविरुद्ध पत्रकार सम्मेलन गरेका थिए । उनीहरूमध्ये शर्मिला श्रेष्ठले आफूमाथि कँडेलले ‘ह्यारेसमेन्ट’ गरेको आरोप पनि लगाएकी छन् । कँडेल आफ्नो कोठामा जान खोजेको तर आफूले नलगेपछि काममा पेल्न थालेको उनको आरोप छ । तर, इन्द्रेणीको टीमसहित उपस्थित भएका कँडेलले आफूमाथि लागेका अधिकांश आरोप इन्कार गरे ।
इन्द्रेणीका गाडी चालककी पत्नीलाई ४ लाख रूपैयाँ दिएको आरोप भने कँडेलले स्वीकार गरेका थिए । उक्त पैसा केका लागि दिइएको भन्ने उनले ठोस जवाफ दिन सकेनन् । यस्तै, कर्मचारीहरूलाई कुटपिट गरिएको आरोप कँडेलले आंशिक स्वीकार गरेका छन् । आफूविरुद्ध गालीगालौज र ज्यानकै धम्की दिइएपछि आफ्ना भाइभतिजाले धकेलाधकेल गरेको उनले प्रष्ट पारेका छन् ।
यसैगरी उनले आफू सिद्धिएर देश बन्छ भने सिद्धिन तयार रहेको पनि उनले बताएका छन् ।
विगत १५ वर्ष अगाडि ७ जनाबाट सुरु गरेको इन्द्रेणी कार्यक्रममा अहिले ३७ जनाभन्दा बढी रहेको बताएका कँडेलले पछिल्लो समय केही समय तलब दिन ढिलो हुँदा आफूमाथि विभिन्न आरोप लागेको बताए । पछिल्लो समय इन्द्रेणीमा थाइ कर्मचारी राख्नसक्ने अवस्था भएपछि सबै बसेर विधान बनाएको तथा कार्यक्रम पर्दा बोलाउने पारिश्रमिक दिने र नपर्दा नबोलाउने पारिश्रमिक पनि नदिने व्यवस्था वकिल राखेर गरेको उनको भनाइ छ ।
आफूमाथि गम्भीर आरोपहरू लागेपछि इन्द्रेणी सञ्चालक कृष्ण कँडेलले दिए यस्तो स्पष्टीकरण
FACEBOOK COMMENTS