काठमाडौं । जुम्लाकी सांसद विनिता कठायतले कर्णालीको भाषा र पीरमर्का नबुझेको भन्दै वर्तमान सरकारप्रति दु:खेसो पोखेकी छिन् ।
प्रतिनिधि सभाको शून्य समयमा आफ्नो धारणा व्यक्त गर्दै उनले कर्णालीका जनताले एउटा राम्रो स्वास्थ्य चौकीको समेत सुविधा नपाएको र वर्षौंदेखि रोग बोकेर बस्न बाध्य बनिरहेको भन्दै भावानात्मक अभिव्यक्ति दिएकी हुन् ।
‘यो सरकारले न हाम्रो भाषा बुझ्छ, न हाम्रो पीर र मर्का नै । यी साना–साना समस्या पनि बुझ्न सक्दैन भने कर्णाली र त्यहाँका बासिन्दाले कसरी आफ्नो मान्ने ?’ उनले भनिन् ।
आफू जुम्ला गएको बेला भर्खरै एक जना वृद्ध आमाले आफूलाई सोधेको प्रश्न जस्ताको जसतै संसदलाई सुनाउँदै उनले भनिन्–
‘सम्माननीय सभामुख महोदय, भर्खरै मात्र म मेरो जिल्ला जुम्लामा रहिरहँदाखेरि कर्णाली स्वास्थ्य प्रतिष्ठानभन्दा केही परको एउटा गाउँकी आमाले मलाई बोलाएर भन्नुभयो– भाओ अड्डोआपा, माथि बसेका माण्ठमाण्ठै हुन् कि दुईटा जात हुन् त । ती माण्ठमाण्ठ भइदिएका भए हाम्रा मनका पीर र मर्का बुझ्दा हुन् । मेरो घुँडो दु:खेको यत्तिका वर्ष भइगयो म कर्णाली प्रतिष्ठानसम्म जान हग्दैन । यसति उँधो एक स्वास्थ्य चौकीको राम्रो सुविधा भइदिया भए म औषधि खाँनेछियाँ र घुँडो दुख्या निको हुन्याछ्यो ।’
ती वृद्ध आमाको भनाइलाई थप प्रष्ट पार्दै सांसद कठायतले भनिन्, ‘सभामुख महोयले यो बुझ्नुभएन होला । अर्थात् नानी अलि यता आउ त । माथि बसेकाहरू मान्छे हुन् कि राक्षस प्रवृत्तिका छन् ? यदि ती मान्छे मान्छे भइदिएको भए त हाम्रो मनको पीरमर्का बझ्थे होलान् । मेरो घुँडा दु:खेको यत्तिका वर्ष भइसक्यो । म प्रतिष्ठानसम्म जान सक्दिनँ । यही नजिकै स्वास्थ्य चौकी भइदिएको भए म औषधि खाएर घुँडा निको भइसक्ने थियो ।’
FACEBOOK COMMENTS