काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार नयाँ गठबन्धनमा छलफल भएको छ ।
सत्तारूढ नेपाली कांग्रेसको महासमिति बैठक काठमाडौंमा चलिरहेको छ । सत्तारूढ गठबन्धनकोमा समेत महासमिति बैठकमा छलफल जारी रहेको र गठबन्धनलाई नै प्रभावित गर्नसक्ने बुझाइमा रहेका प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनका लागि एमालेसँग छलफल थालेका बताइएको छ ।
अहिलेको सत्तारूढ गठबन्धनकामा कांग्रेस महासमिति बैठकमा भइरहेको टीका टिप्पणी र छलफलले त्रसित प्रधानमन्त्री प्रचण्डले एमालेसँग गठबन्धन गरेर आफ्नो कुर्सी सुरक्षित गर्नका लागि ओलीसँग सम्बन्ध बढाएको टिप्पणीसमेत हुनथालेको छ ।
कांग्रेसले निर्वाचनपछि सरकारको नेतृत्व गर्न आलटाल गरेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ओली निवास बालकोट पुगेर प्रधानमन्त्री भएका थिए । ‘कांग्रेस महासमिति बैठकमा भइरहेको छलफलले त्रसित प्रचण्डले आफ्नो कुर्सी सुरक्षित गर्न पुनः एमालेसँग हिमचिम बढाएको हुनसक्छ,’ एमालेका एक पदाधिकारीले भने ।
संघीय र प्रदेश सरकार कुनैमा पनि नभएको एमाले राजनीतिक नियुक्तिलगायतका विभिन्न अवसरबाट वञ्चित हुँदै आएको छ । सोही कारण एमालेले अहिलेको सत्तारूढ गठबन्धन भत्काउन खोजेको र सरकारमा हिस्सेदार बन्न खोजेको छ । कांग्रेस महासमिति बैठकमा गठबन्धन नै भत्किनेगरी भइरहेको छलफलका बीच ओलीले त्यसलाई अवसरका रूपमा लिएका छन् भने प्रचण्डले आफू नेतृत्वको सरकार जोगाउन एमालेसँग नजिकिएका हुन् ।
एमाले र माओवादी दुवै पार्टीमा रहेका एक समूहले कम्युनिस्ट पार्टीबीचमा एकता र गठबन्धन हुनुपर्ने भन्दै लबिइङ गर्दै आएका छन् । सत्ता स्वार्थका कारण अलग भएका कम्युनिस्ट पार्टी अहिले पुनः सत्ता स्वार्थकै कारण मिल्न खोजेको टिप्पणीसमेत भइरहेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS