काठमाडौं । ग्रीस र पोल्याण्डमा आकर्षक वैदेशिक रोजगारीको अवसर देखाएर करि एक करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा महोत्तरीको गौशाला नगरपालिका–१२ घर भई काठमाडौं महानगरपालिका–६ बौद्द बस्ने २३ वर्षीय निशेष कुमार मुक्तान, गोरखाको धार्चे गाउँपालिका–५ घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्ने २० वर्षीया बिनिता गुरुङ र पर्वतको फलेवास नगरपालिका–२ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका–९ बस्ने ३७ वर्षीय तिलक बहादुर सापकोटा छन् ।
पक्राउ परेकाहरूमध्ये मुक्तान र गुरुङले ग्रीस पठाइदिन्छु भन्दै ६९ लाख ३० हजार रूपैयाँ र सापकोटाले पोल्याण्ड पठाइदिन्छु भन्दै पाँच लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । तीनै जनाले मासिक एक लाख रुपैयाँ भन्दा बढी पारिश्रमिक हुने भनी आकर्षक रोजगारीको प्रलोभन देखाएर रकम असुली गरेका थिए ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS