काभ्रेपलाञ्चोक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१०, दोलालघाटमा आजदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गरे ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले भुम्लुलगायत आसपासका क्षेत्रका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजना सपना रहेकाले परियोजनालाई सम्पन्न गर्न सबैका तर्फबाट साथ र सहयोग हुनुपर्ने बताए । यो कार्य अगाडि बढाउनका लागि बङ्गलादेश सरकारसँग प्रारम्भिक सहमति भइसकेका कारण अबको १६ वर्षभित्रमा उक्त परियोजना सम्पन्न हुनेमा विश्वस्त रहेको उनले बताए ।
“परियोजना सम्पन्न भएपछि यहाँ फेवा तालभन्दा पाँच गुणा ठूलो ताल बन्नेछ”, उनले भने, “सन् २०४० सम्ममा यो परियोजना सम्पन्न हुनेछ, त्यसपछि दोलालघाट क्षेत्र बेग्लै पर्यटकीय गन्तव्यको रुपमा विकास भएर यहाँको रुप रङ नै फेरिनेछ ।”
FACEBOOK COMMENTS