काठमाडौं । नेपाल महिला चेम्बरले आफ्नो संस्थापक अध्यक्ष डा. अञ्जान शाक्यलाई सम्मान गरेको छ ।
राष्ट्रिय सभा सदस्यमा मनोनीत डा. शाक्यलाई महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल एवम् चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतले संयुक्त रूपमा सम्मान गरेका हुन् ।
सम्मानपछि अध्यक्ष उर्मिला श्रेष्ठले संक्षिप्त मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सभाबाट महिला सशक्तीकरणको मुद्दा उठान गर्न डा. शाक्यलाई अनुरोध गरिन् । महिलाको उद्यमशीलता विकासका लागि कानूनी र संरचनागत सुधारको आवश्यकता रहेको भन्दै अध्यक्ष श्रेष्ठले महिला चेम्बर अभियान र महिला उद्यमशीलता विकासमा डा. शाक्यको भूमिकाको प्रशंसा गरिन् ।
यस्तै, चेम्बर अध्यक्ष कमलेश अग्रवालले राष्ट्रिय सभामा निजी क्षेत्रको आवाज उठाउन डा. शाक्यलाई सुझाव दिए । महिला चेम्बरमार्फत महिला उद्यमशीलता एवम् शसक्तीकरणका लागि चेम्बरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष अग्रवालको भनाइ छ ।
कार्यक्रममा चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठले महिला चेम्बरकी संस्थापक अध्यक्ष डा. शाक्यले राष्ट्रिय सभामा निजी क्षेत्रबाट प्रतिनिधत्व गर्नु गौरवको विषय भएको बताए ।
सम्मान ग्रहणपछि राष्ट्रिय सभा सदस्य डा. शाक्यले महिला सशक्तीकरणका लागि आफूले निरन्तर पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै मुलुकको आर्थिक विकासका लागि पहल गर्ने बताइन् ।
FACEBOOK COMMENTS