काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अर्थतन्त्रको वर्तमान अवस्थाबारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएको छ ।
आज आइतबार अध्यक्ष कमलेश कुमार अग्रवाल, निर्वतमान अध्यक्ष राजेन्द्र मल्ल, पूर्वअध्यक्ष एवम् चेम्बर सल्लाहकार परिषदका अध्यक्ष राजेशकाजी श्रेष्ठ, पूर्वअध्यक्षहरू महेश अग्रवाल र सुरेन्द्रबीर मालाकार एवम् चेम्बरका पदाधिकारी टोलीले सिंहदरबारमा प्रधानमन्त्री दाहालसँग भेटवार्ता गर्दै विद्यमान आर्थिक समस्याका कारण निजी क्षेत्रको सम्पति ५० प्रतिशतसम्म ऋणात्मक भएको बताएका हुन् ।
वित्तीय र मौद्रिक नीतिको प्रभावकारी समन्वयमार्फत अर्थतन्त्र चालयमान बनाउनुपर्ने लगायतका सुझाव दिँदै चेम्बरले भनेको छ, ‘अर्थतन्त्रमा हाल देखिएको शिथिलताले निजी क्षेत्रको सम्पत्ति ५० प्रतिशतसम्म ऋणात्मक भएको चेम्बरको ठहर छ । आयकर ऐन २०५८ का अधिकांश प्रावधानहरू स्पष्ट नहुँदा अन्तःशुल्क, भन्सार आदिमा पछिल्लो समय भूतप्रभावी दायित्वहरू देखा परेको छ । यसको चाँडो अन्त्य हो ।’
यस्तै, घरजग्गा खरिद बिक्रीका क्रममा बिगतको सम्पत्तिको श्रोतलाई मान्यता नदिएर चालु नाफाको श्रोतलाई नै मान्यता दिने मालपोत कार्यलयबाट अपनाइएको प्रक्रियाले घरजग्गा कारोबारमा शिथिलता आएको चेम्बरको ठहर छ । ‘विगतमा लिएका संकुचित नीतिहरूका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ । व्यापार असहजीकरण, शेयर बजारको सङ्कुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधि खुम्चिएको छ,’ चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सहकारीको बेथिति अन्त्य गरियोस्
चेम्बरले सहकारी क्षेत्रमा देखिएको वेथिति अन्त्यका लागि अविलम्ब पहल गर्न पनि प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको छ । ‘सहकारी क्षेत्र समस्याग्रस्त हुँदा साना, मझौला उद्यमी व्यवसायीहरू पीडित भएका छन् । सहकारी क्षेत्रको समस्या अविलम्ब समाधान हुनुपर्दछ,’ चेम्बरले प्रधानमन्त्रीलाई भन्यो ।
विगतमा चरम आर्थिक मन्दीका कारण पीडित उद्यमी व्यवसायीहरूलाई कुनै जरिवाना लाग्ने अवस्था आएमा पूर्ण छुट दिने व्यवस्था गर्नुपर्ने धारणा चेम्बरले राखेको छ । यस्तै, करका कारण विवादित मुद्दाहरूको यथाशीघ्र समाधानका लागि कर व्यवस्थापन आयोग गठन गर्न पनि चेम्बरले माग गरको छ ।
चेम्बर पदाधिकारीसँगको भेटका क्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रमा हाल देखिएको दबाब अन्त्य गर्न सरकार प्रयत्नशील रहेको बताए । ‘अर्थतन्त्र सङ्कटउन्मुख पनि छैन, चलायमान पनि हुन सकेको छैन । अर्थतन्त्रका अधिकांश सूचकहरू सकारात्मक भएर पनि आर्थिक गतिविधि विस्तार हुन सकेको छैन,’ प्रधानमन्त्री दाहालले भने ।
प्रधानमन्त्री दाहालले अर्थतन्त्रको जग बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रमको खाका बनाइरहेको बताउँदै भने, ‘मौद्रिक र वित्तीय नीतिको प्रभावकारी समन्वय गर्नका लागि सरकारले प्रयास गरीरहेको छ ।’ यस्तै, सहकारी समस्या समाधानका लागि पनि सरकारले ठोस निर्णय गर्ने तयारीमा रहेको प्रधानमन्त्री दाहालले विश्वास दिलाए ।
FACEBOOK COMMENTS