झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाईँनिकट मानिएका केही व्यक्तिहरुले एभरेष्ट बैंक र ज्योति विकास बैंकको बिर्तामोड शाखा कार्यालय तोडफोड गरेका छन् ।
ऋणीलाई तनाव दिएको भन्दै उनीहरुले दुईवटा बैंकमा तोडफोड गरेका हुन् । प्रहरीले तोडफोडमा संलग्न चार जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ पर्नेहरूमा बुद्ध शान्तिका अन्जेस राई (बुलेट किराँती), बिर्तामोड–३ सैनिकमोडका मनिकुमार तामाङसहितका छन् । दुई जनाको नाम सार्वजनिक गरिएको छैन ।
प्रसाईँ नेतृत्वको ‘राष्ट्र राष्ट्रियता धर्म संकृति र नागरिक बचाउ महाअभियान’ को युवा संगठन नागरिक युवा दस्ताको आयोजनामा भएको प्रदर्शनपछि बैंकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । नागरिक युवा दस्ताका झापा जिल्ला प्रमुख भीम तुम्बापोको नेतृत्वमा विरोेध प्रदर्शन भएको थियो ।
गएको वैशाख २५ गते एभरेष्ट बैंक र ज्योति विकास बैंकले टर्चर दिएको भन्दै बर्दियाको राजापुरका खुशीराम चौधरीले आत्महत्या गरेको भन्दै प्रसाईँका कार्यकर्ता बिरोधमा उत्रिएका हुन् । लगभग १५० जनाको उपस्थितिमा कालो मास्क र नेपालको झण्डासहित विभिन्न विरोधका नारा लगाउँदै उनीहरुले बिरोध प्रदर्शन गरेका थिए ।
FACEBOOK COMMENTS