काठमाडाैं । नेपाली काँग्रेस लगायतका विपक्षी दलहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्दा अवरोध नगर्ने निर्णय गरेका छन् ।
उपप्रधानमन्त्री लामिछाने र सत्तारुढ प्रमुख घटक एमालेले सहकारी प्रकरणबारे लगाइएको आरोपको खण्डन गर्न संसदमा पाउनुपर्ने अडानमा विपक्ष दलहरु काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आईतवार बसेको बैठकले सहमती दिएको हो । गृहमन्त्रीले बोल्न पाउनुपर्छ भन्ने आफूहरुको प्रश्ताव विपक्ष दलहरुको आज बसेको बैठकले पारित गरेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले जानकारी दिए । बैठकमा विपक्ष दलहरुले उपप्रधानमन्त्री लामिछानेले बोलिसकेपछि उनको सहकारी प्रकरणका सम्बन्धमा संसदीय छानविन समिति नबन्दासम्म संसद चल्न नदिने अडान भने यथावत राखेको छ ।
राप्रपाका प्रमुख सचेतक शाहीले भने, ‘आधिकारिक निर्णय हो आज कि गृहमन्त्रीले बोल्नु पर्छ । उनको कुरा सुन्नुपर्छ । उनले बोल्न पाउनुपर्छ भनेर हामीले प्रश्ताव राखेका थियौं । आज सो प्रस्ताव पारित भएको छ र गृहमन्त्रीले बोल्ने हो । उनले बोलून । उनको कुरा सुन्न प्रतिपक्ष तयार छ । ’
बैठकमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका प्रमुख सचेतक शाहीलगायतका नेताहरु सहभागी भएका थिए ।
FACEBOOK COMMENTS