काठमाडौं । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू कुनै न कुनै पेसा–व्यवसाय र उद्यमसँग जोडिनुपर्ने बताएका छन् ।
नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको ‘सहरी कौशी खेती तालिम’ कार्यक्रम शुभारम्भ गर्दै उनले राजनीतिलाई उद्यमसँग जोड्नुपर्नेमा जोड दिँदै नेकपा एमालेका नेता तथा कार्यकर्ताहरू कुनै न कुनै पेसा–व्यवसाय वा उद्यमसँग जोडिनुपर्ने बताएका हुन् ।
व्यवसाय र उद्यमले राजनीतिक व्यक्तिको इमानदारिता र नैतिकता जोगाउन सकिने भन्दै पूर्वमन्त्री गुरुङले उद्यम सँगसँगै राजनीति र राजनीति सँगसँगै उद्यम गरेर अघि बढ्नुपर्नेमा जोड दिए । कुनै पनि पेसा वा व्यवसायलाई सानो ठान्न नहुने र आफूले गरेको काममा सधैं सन्तुष्ट बन्नुपर्ने भन्दै उनले उत्पादनसँग जोडिएका व्यक्तिहरू नैतिकवान र इमानदार देखिएको चर्चा गरे ।
आफ्नो कार्यकालको सुरुवातमै अत्यन्तै पृथक, रचनात्मक र जीवनपयोगी काम गरेको भन्दै उनले दोलखा–काठमाडौं सम्पर्क मञ्चलाई धन्वयवाद ज्ञापन गर्दै पेसा–व्यवसाय र उद्यम गरेर राजनीति गर्ने विषयलाई पार्टीले नीतिगत रूपमा अगाडि बढाउँदै आएको स्पष्ट पारे ।
प्रविधिको विकासँगै सबैको हातहातमा पुगेको मोबाइलका कारण नेपाली समाज र परिवार समेत विभाजित र विखण्डित हुने अवस्थामा पुगेको चर्चा गर्दै उनले अनावश्यक रूपमा दिनभरि मोबाइल चलाएर खर्च हुने समयलाई कौशी खेतीतर्फ उन्मुख गराउँदा व्यस्त र सक्रिय बनिने बताए ।
‘दिनभरि घरमा बस्दा र समय कटाउन मोबाइलको सहारा लिँदा हाम्रो समाज र परिवार विभाजन र विखण्डनको दिशातर्फ गइरहेको छ । यस्तो खतरापूर्ण अवस्थामा आफूलाई मोबाइलबाट टाढा राखी व्यस्त र सक्रिय बनाउन यो कौशी खेतीले विशेष भूमिका खेल्न सक्दछ,’ नेता गुरुरूले भने, ‘अहिले घरमा सबै छन्, तर कसैसँग सम्वाद, छलफल वा भावी योजनाबारे कुराकानी नै हुँदैन, किनकी हामी सबै आ–आफ्नो मोबाइलमा व्यस्त छौँ । परिवारसँग बोल्ने फुर्सद नै कसैसँग छैन । यसले हामीलाई गम्भीर दिशातर्फ डोर्याइरहेको छ ।’
काठमाडौं बस्ने दोलखाली महिला दिदीबहिनीहरूलाई सिपयुक्त तालिम दिएकोमा सम्पर्क मञ्चप्रति खुसी व्यक्त गर्दै उनले पार्टी सम्पर्क बढाउन र संगठित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । सामाजिक जिम्मेवारी, पारिवारिक दायित्व र अन्य विभिन्न घरायसी काम हुँदाहुँदै पनि घरमै बसेर उद्यमी बन्नेगरी सम्पर्क मञ्चले उपलब्ध गराएको महत्वपूर्ण तालिम लिन उनले सबैलाई आग्र गरे ।
‘हामीले प्रयोग गर्ने विभिन्न खाले तरकारीहरूमा औषधीय गुण भए पनि विभिन्न प्रकारका विषादीको प्रयोगबाट त्यसको गुण नास भइरहेको अवस्था छ । कौशीमा खेती गरी सानो परिमाणमा तरकारीजन्य वस्तु उत्पादन गर्दा पनि अहिलेको आर्थिक स्थितिमा ठूलो राहत हुने देखिन्छ,’ उनले भने, ‘कौशी वा आफ्नो घर वरिपरि यस प्रकारको खेती गर्दा औषधीय गुणयुक्त तरकारी उत्पादन गरी सेवन गर्न पाइन्छ, यसले स्वास्थ्यलाई पनि भरपूर फाइदा दिलाउँछ ।’
सोमबारसम्म चल्ने तीन दिने शहरी कौशी खेती तालिममा भान्सामा खेर जाने विविध वस्तुहरूको प्रयोगबाट कसरी घरमै तरकारी तथा तरकारीजन्य वस्तुहरू उत्पादन गर्न सकिन्छ भनेर सिकाउने उद्देश्य राखिएको दोलखा काठमाडौं सम्पर्क मञ्चकी उपाध्यक्ष सरिता शिबाकोटीले बताइन् ।
घरमै बसेर फुर्सदको समयमा काम गर्दा पनि केही तरकारी उत्पादन गर्न सकियो भने पनि दैनिक खर्चमा कटौती हुनाका साथै त्यसबापतको रकम बचत गर्न सकिने भएकाले यो तालिम लिनु आवश्यक रहेको उनको भनाइ छ । ‘घर हुने वा डेरामा बस्नुहुने सबै दोलखावासीका लागि लक्षित गरेर यो तालिम कार्यक्रम आयोजना गरेका हौँ,’ उपाध्यक्ष शिबाकोटीले भनिन्, ‘घर हुनेले सिकेको सिपलाई तत्काल कार्यान्वयन गर्न सक्नुहुनेछ भने डेरामा बस्नुहुनेले पनि सिकेर सोही प्रकृतिको खेती गर्न सक्नुहुनेछ ।’ कुनै पनि सिप सिकेर खेर नजाने उनको भनाइ छ ।
काठमाडौं बस्ने घरवाला होस् वा डेरावाल उनीहरू सबैले धेरै खर्च तरकारीमा गरिरहेको तथा पैसा खर्च गर्दा पनि अर्गानिक तरकारी पाउन मुस्किल परिरहेको परिप्रेक्ष्यमा कौशीमा गरिने तरकारी खेतीले केही छाक भए पनि अर्गानिक तरकारी र तरकारीजन्य उत्पादनको प्रयोग गर्न पाइने उनको भनाइ छ ।
तीन दिनसम्म चल्ने तालिम कार्यक्रमको सुरू दिन आज उद्घाट र परिचयात्मक कार्यक्रम तथा सैद्धान्तिक ज्ञानका बारेमा छलफल भएको र भोलि आइतबार र पर्सी सोमबार प्रयोगात्मक कार्य गरिने उपाध्यक्ष शिबाकोटीले जानकारी दिइन् । उनका अनुसार उद्घाटन समारोहमा मञ्चले तयार पारेको वि.स. २०८१ सालको भित्तेपात्रो पनि विमोचन गरिएको थियो ।
कौशी खेती गरेर चर्चा कमाइरहेकी कल्पना बस्नेतले तीन दिनसम्म तालिम प्रदान गर्ने छिन् । दोलखाको जिरी घर भएकी बस्नेत नेकपा एमाले बागमती सम्पर्क कमिटीकी सदस्य समेत हुन् । उनले आफ्नो कौशीमा तरकारी खेती गरेर मासिकरूपमा तरकारीबावत खर्च हुने १० देखि १५ हजार रूपैयाँ बचाउन सफल भएको जानकारी दिइन् ।
तालिम काँडाघारीस्थित सनसिटी चोकमा अवस्थित ट्वान्टी फर्स्र्ट रेष्ट्रोमा सञ्चालन भइरहेको छ । तालिममा ५० जना महिलाको सहभागिता रहेको सम्पर्क मञ्चले जनाएको छ ।
FACEBOOK COMMENTS