बाँके । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई विपद्मा खोज तथा उद्धारसम्बन्धी चारदिने तालिम दिइएको छ ।
विपद्का बेला फसेकाहरुलाई, भत्किएको घरमा परेका मानिसलाई उद्धार गर्ने तरिका तालिममा सिकाइएको छ । रूखबिरुवा ढलेर वा भित्ता भत्किएको बेला रूख, भित्ता र टिनका पाता काट्ने तरिका, घरभित्र फसेकालाई बाहिर ल्याउने र घाइतेहरुको उद्धार तथा उपचारका लागि अस्पताल र्पुयाउनेलगायत विषयमा तालिम प्रदान गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद् समितिका संयोजक समीरप्रताप सिंहले बताए ।
बाँकेको शम्शेरगन्जस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा आयोजित तालिममा २० जना नगर प्रहरी सहभागी थिए ।उनीहरुलाई प्रयोगात्मक अभ्यास गराइएको स्थानीय आपत्कालीन कार्यसञ्चालन केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका सूचना व्यवस्थापक अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार प्रहरी केन्द्रमा तालिमका लागि नमूना माटोको घर, भित्ता, टिनको छानालगायत सामग्री निर्माण गरिएको थियो । नगरप्रहरीलाई तालिम प्राप्त सशस्त्र प्रहरीहरुले तालिम प्रदान गरेका थिए । नेपालगन्जमा विपद्का बेला नगर प्रहरीलाई दक्ष तथा सतर्क बनाइ तयारीका साथ राख्न तालिम प्रदान गरिएको नेपालगन्ज नगरप्रमुख प्रशान्त विष्टले बताए ।
FACEBOOK COMMENTS