![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रम सुवालले ‘भन्सार एजेन्टले भारतीयलाई सफ्टवेयर बेचेर भन्सारमा सामान घोषणा गराई कमिसन कुम्ल्याइरहेको सत्य हो कि होइन ?’ भनी अर्थमन्त्री वर्षमान पुनलाई प्रश्न गरेका छन् ।
आज बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीसँग प्रश्न–उत्तर सेसनमा सांसद सुवालले सो प्रश्न गरेका हुन् । तर, प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यो विषयमा भन्सार विभागमा कुनै सूचना तथा उजूरी नभएको भनी पन्छिए ।
यस्तै, सुवालले देशभर कति भन्सार एजेन्ट नियुक्ति गरिएका छन् ? भनेर पनि प्रश्न गरेका छन् । त्यसमाथि जवाफ दिँदै अर्थमन्त्री पुनले आर्थिक वर्ष २०७९÷८० मा ६१८ जना भन्सार एजेन्ट नियुक्ति गरिएको, यसभन्दा अघिको १७३ जना भन्सार एजेन्ट गरी जम्मा ७९१ जना भन्सार एजेन्ट नियुक्ति भएको जानकारी दिए । उल्लिखित ७९१ जना भन्सार एजेन्टमध्ये ६७ जनाले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि हालसम्म भन्सार एजेन्ट इजाजतपत्र नवीकरण नगरेको र २५ जनाले निवेदन दिई आफ्नो भन्सार एजेन्ट इजाजतपत्र खारेज गरेको हुँदा हाल क्रियाशील भन्सार एजेन्टको सङ्ख्या ६९९ रहेको उनको भनाइ छ ।
यसैगरी, ‘भन्सार एजेन्टलाई सम्बन्धित भन्सारमै बायोमेट्रिक हाजिरी गराउनुपर्ने र सामान घोषणाको कोटा प्रणाली लागू गर्नुपर्ने व्यवस्था नहुँदा दैनिक करोडौं रूपैयाँ राजस्व चुहावट भइरहेको भुक्तभोगीहरूको गुनासो मन्त्रालयसम्म पुगेको छ कि छैन ?’ भन्ने सांसद सुवालको जिज्ञासामा अर्थमन्त्री पुनले भने, ‘भन्सार कार्यालयहरूमा भन्सार एजेन्टहरूको लागि बायोमेट्रिक हाजिरी गराउने कानुनी व्यवस्था छैन । भन्सार नियमावली, २०६४ को नियम ३७(९) मा भन्सार एजेन्टको इजाजतपत्रवालाले भन्सार कार्यालयमा आफैं उपस्थित भई काम गर्नु पर्नेछ भन्ने कानुनी व्यवस्था रहेको छ ।’
त्यस्तै, ‘भन्सार एजेन्टको आफ्नो अधिकार विदेशीलाई समेत बिक्री गर्नेहरूलाई के कस्तो कारबाही भइरहेको छ ?’ प्रश्नको जवाफमा मन्त्री पुनले भने, ‘भन्सार ऐन, २०६४ को दफा ५९ मा भन्सार जाँचपासको क्रममा मालवस्तुको गलत घोषणा गर्ने भन्सार एजेन्टलाई भन्सार अधिकृतले पच्चीस हजार रूपैयाँदेखि पचास हजार रूपैयाँसम्म जरिवाना वा एक महिनादेखि ६ महिनासम्म कैद वा दुवै सजाय गर्न सक्नेछ भन्ने व्यवस्था रहेको छ । भन्सार एजेन्टहरूले आफ्नो अधिकार विदेशीलाई बिक्री गरेको सम्बन्धमा यस विभागमा कुनै जानकारी, सूचना तथा उजुरी प्राप्त भएको छैन ।’
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS