काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरूबीच बाक्लिएको भेटघाट र गठबन्धनभित्रकै कतिपय नेताले दिएका अभिव्यक्तिका कारण वर्तमान सत्ता समीकरण सङ्कटमा परेको चर्चा हुन थालेको छ ।
सत्तारूढ र प्रतिपक्षी दलका नेताहरूले चाहिँ ‘त्यस्तो सम्भावना नकार्न नसकिने’ तर ‘तत्कालै सत्ता परिवर्तन गर्ने चरणमा छलफल नपुगेको’ बताएका छन् ।
यद्यपि विगत केही दिनदेखि विकसित राजनीतिक घटनाक्रमबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्वको सरकारको आयुबारे संशय उत्पन्न भएको देखिन्छ । विभिन्न सञ्चारमाध्यमले पनि सत्ता समीकरणका लागि संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले ‘निकै निकट’ पुगेको विवरण प्रकाशित गरेका छन् ।
पछिल्ला भेटघाट
गत शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको तीन घण्टा लामो भेटवार्तापछि सत्ता समीकरण परिवर्तन हुन सक्ने विवरणहरू आउन थालेका हुन् । त्यस दिन देउवा आफ्नी पत्नी आरजु राणा देउवासहित ओली निवास बालकोट पुगेका थिए । आरजु राणा देउवा सांसद पनि हुन् ।
उक्त भेटमा दुई नेताबीच नेपाली राजनीतिका विविध पक्षमा छलफल भएको बताइएको थियो । यद्यपि, त्यसको विस्तृत विवरण बाहिर आइसकेको छैन । त्यस दिन नेपालका साना–ठूला सबैजसो कम्युनिस्ट दलका नेताहरू सहभागी भएको एउटा कार्यक्रममा ओली पनि जाने तय थियो । तर त्यसमा अनुपस्थित भई उनले देउवालाई भेटेको विवरण आएको छ ।
बालकोटमा दुई नेताबीच भएको लामो छलफलपछि सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र र विशेष गरी प्रधानमन्त्री प्रचण्ड ‘चेपुवा’ मा परेको विवरण आउन थाल्यो । तर, आइतबार ओली र प्रचण्डबीच सिंहदरबारमा उस्तै लामो भेटघाट भयो । त्यसमा उपप्रधान तथा गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि सहभागी भएको बताइएको छ ।
प्रचण्ड र ओलीले भेटवार्तालाई सोमबार पनि निरन्तरता दिँदै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरेका छन् । उक्त बैठकमा यी दुई नेताबीच भएका कुराकानीहरूको विस्तृत विवरण बाहिर आएको छैन । सरकारी समाचार संस्था राससले दुई नेताबीच ‘अझ प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको’ जनाएको छ ।
‘प्रधानमन्त्री निवासमा भएको छलफलमा उहाँहरूबीच सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउने विषयका अतिरिक्त मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको प्रधानमन्त्रीका सञ्चारविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो,’ राससले भनेको छ ।
यसैबीच सोमबार अपराह्न बस्ने गरी नेपाली कांग्रेसले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ । उक्त बैठकमा सत्ता समीकरणबारे छलफल हुन सक्ने बताइएको छ । यद्यपि कांग्रेस नेताहरूले त्यसबारे विस्तृतमा खुलाउन चाहेका छैनन् ।
उक्त पार्टीको सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले रासससँग ‘बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, नेवि सङ्घलगायतका भ्रातृसंस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने’ बताएका छन् ।
के नेपाली कांग्रेसले केपी शर्मा ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको हो ?
देउवाले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्ने विवरणहरू आइरहेका छन् । यद्यपि, कांग्रेस र एमाले दुवै दलका नेताहरूले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरिएको हो कि होइन भन्ने स्पष्ट रूपमा खुलाएनन् । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतलाई त्यसबारे सोध्दा उनले भने, ‘अहिले नै छलफल प्रस्ताव (प्रधानमन्त्रीका लागि)को चरणमा प्रवेश गरेको छैन ।’
यद्यपि, उनले सत्ता समीकरण परिवर्तनबारे देउवा र ओलीबीच कुराकानी भएको कुरालाई अस्वीकार भने गरेका छैनन् । महतका भनाइमा दुई दलबीच विभिन्न मामिलामा केन्द्रित भएर कुराकानी भइरहेको छ । उनले दिएको जानकारीअनुसार त्यस्ता मामिलाहरूमा ‘सरकारकै तर्फबाट फैलाइएको अस्थिरता अन्त्य’ मुख्य विषय रहेको छ ।
त्यसैगरी संविधान संशोधन, सङ्क्रमणकालीन न्याय, परराष्ट्र सम्बन्ध, आर्थिक सुस्ततासहितका विषयहरूमा दुई नेताबीच छलफल चलिरहेको उनले बताए । उनले भने, ‘सत्ता परिवर्तनकै लागि र सत्तामै पुग्नका लागि मात्र छलफल अघि बढाउन हामी उत्सुक छैनौँ । सबैभन्दा पहिले सत्ता केका लागि भन्ने स्पष्ट हुनुपर्यो । अस्थिरताको कारण के हो ? दीर्घकालीन रूपमा समस्याहरू समाधान हुन्छन् भने हामी सहकार्यका लागि खुला छौँ ।’
के त्यसो भए कांग्रेस र एमाले सत्ता साझेदारीको नजिकनजिक पुगेका हुन् त ?
‘यो मुद्दाकेन्द्रित हुन्छ,’ महतले भने, ‘भोलि यसले सत्ता समीकरणको आकार ग्रहण गर्न सक्दैन भन्न सकिन्न ।’ महतले दुई ठूला दल ‘एक स्थानमा नआइकन’ संविधानसँग जोडिएका विषयहरू समाधान गर्न गाह्रो हुने भएकाले पनि कांग्रेसभित्रै ‘एमालेसँग मिलौँ’ भन्ने मत रहेको बताए ।
उनले भने, ‘अहिले नै यो हुन लागेको छ भन्ने सोच्नु हुँदैन । म थप भन्न चाहन्नँ । यो विकल्पलाई गम्भीर रूपमा लिनुपर्छ भन्ने पार्टीभित्र र बाहिर पनि मत छ । मुद्दामा कुरा मिल्यो भने यसले आकार ग्रहण गर्न सक्छ ।’
एमाले नेता के भन्छन् ?
पछिल्ला दिनका भेटघाटहरूले एमाले र कांग्रेसबीच निकटता बढेको र त्यसले उनीहरूलाई सत्ता साझेदारीसम्म पुर्याउन सक्ने विवरणहरू आएका छन् । यस सन्दर्भमा एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले चाहिँ ‘तत्काल त्यस्तो सम्भावना’ नरहेको दाबी गरे ।
‘सत्ता परिवर्तनका लागि कांग्रेसका सभापति र माननीय आरजु देउवासँग हाम्रा अध्यक्षको भेट भएको भनेर राजनीति तरङ्गित भएको छ । मलाई चाहिँ यो सत्ता समीकरण परिवर्तनसँग जोडिएको जस्तो लाग्दैन,’ उनले भने, ‘हाम्रो पार्टीभित्र सत्ता गठबन्धन टुटाउनेबारे छलफल र मूल्याङ्कन भएको छैन । हामी अहिले पनि यो गठबन्धनलाई नै लिएर अघि जाने भन्नेमा दृढ छौँ ।’
यद्यपि, उनले कांग्रेसलाई अहिले निकै ‘छटपटी’ भएको र उसले ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव गरेको हुन सक्ने बताए । त्यसो भए के देउवाले ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेका हुन् त भन्ने प्रश्नमा उनले भने, ‘राजनीतिमा त्यस्तो कुरा लख काट्न सकिन्छ । तर, उहाँले (ओली) अहिले नै यो समीकरणबाट मोहभङ्ग भएर तोड्नुहोला भन्ने मलाई लाग्दैन ।’ उनले अहिले बाहिर राजनीति तरङ्ग देखिए पनि एमाले त्यसभन्दा बाहिर नै रहेको दाबी गरे ।
माओवादी नेता के भन्छन् ?
सत्ताको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रका नेताहरूले चाहिँ देउवा र ओलीबीच भएको भेटवार्ताले नेपालको राजनीतिमा एकखाले ‘तरङ्ग पैदा गरेको तर सत्ता समीकरण परिवर्तन नहुने’ बताएका छन् । ‘प्रेसर र दबावहरू छन् तर अहिले नै सत्ता परिवर्तन भइहाल्दैन,’ माओवादी नेता देवेन्द्र पौडेलले भने, ‘साइडमा प्रस्तावहरू छन् भन्ने त सार्वजनिक नै भइसकेको छ । तर केही कामहरू गराउन त्यस्तो गरिएको होला । यसैले सत्ता समीकरण फेरिने कुरमा हामीलाई विश्वास छैन ।’
साइडका प्रस्ताव भनेर देउवाले ओलीलाई प्रस्ताव राखेका छन् भन्न खोजेका हुन् भन्ने प्रश्नमा उनले भने, ‘त्यो त सार्वजनिक नै भइसक्यो नि ! तर त्यसले असर गर्दैन ।’ उनले ओलीले सरकारलाई दबाबमा राखेर कतिपय कामहरू गराउन त्यस्तो गरेको हुन सक्ने सङ्केत गरे तर त्यसबारे स्पष्ट खुलाएनन् । उनले भने, ‘विभिन्न कामका निम्ति पनि यस्तो गरिन्छ नि !’ ‘ती विभिन्न काम के हुन् र कसले गराउन खोजेका हुन्’ भन्ने चाहिँ उनले खुलाउन चाहेनन् ।
वर्तमान सत्ता समीकरण कसरी बनेको हो ?
गत फागुनमा प्रचण्डले देउवासँगको सहकार्य अन्त्य गर्दै ओलीसँग हात मिलाउन गएपछि वर्तमान सत्ता गठबन्धन बनेको हो । विसं २०७९ मङ्सिरको संसदीय निर्वाचनमा तालमेल गरेका कांग्रेस र माओवादी चुनावलगत्तै कसको नेतृत्वमा सरकार बनाउने भन्नेबारे सहमति जुटाउन नसक्दा छुट्टिएका थिए ।
त्यस बेला प्रचण्डले एमालेको समर्थनमा सरकार बनाए र उक्त चुनावबाटै संसद्को चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी पनि सरकारमा सहभागी भयो । निर्वाचनपछि एमाले, रास्वपा र राप्रपासहितका दलको समर्थनमा २०७९ पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भए ।
प्रतिनिधिसभामा त्यसै वर्ष पुस २६ गते प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि कतिपयले गठबन्धनको दिगोपनामा आशङ्का सुरु गरिसकेका थिए । धेरैको आशङ्कालाई सही प्रमाणित गर्दै प्रचण्डले दुई महिनामै ती दलहरूसँगको गठबन्धन भङ्ग गरिदिएका थिए ।
माओवादीसँग कुरा नमिलेपछि प्रमुख सत्ता साझेदार दल नेकपा एमाले सोही वर्ष फागुन १५ गते सरकारबाट बाहिरिएको थियो । त्यसअघिकै सरकारबाट रास्वपा माघ २४ गते बाहिरिएको थियो भने राप्रपा पनि एमालेभन्दा अगाडि नै सरकारबाट अलग्गिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले त्यसपछि कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई समेटेर सोही वर्ष चैत १७ गते सरकार विस्तार गरे । त्यस बेला एमाले र माओवादीबीच विवादको केन्द्रमा राष्ट्रपति निर्वाचन थियो ।
संसदीय निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको माओवादीले चुनावी प्रतिबद्धतानुसार नै राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेललाई सघाउने अडान लियो । तर, सरकारमा साझेदारी गरिरहेको एमालेले माओवादीको उक्त निर्णय चित्त नबुझेपछि आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको थियो ।
अन्ततः माओवादीले कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई नै समर्थन गर्यो र पौडेल राष्ट्रपति निर्वाचित भए । गत फागुनमा कांग्रेस र माओवादीबीचको गठबन्धन भङ्ग हुनुको एउटा कारण राष्ट्रिय सभा अध्यक्षको निर्वाचनलाई पनि देखाइएको थियो । गत फागुन २९ गते भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा कांग्रेस र माओवादी दुवैले दाबी गरिरहेका थिए ।
संवैधानिक निकायहरूमा नियुक्तिका लागि सिफारिस गर्ने संवैधानिक परिषद्मा प्रतिनिधित्व गर्ने पदमा आफ्नो दलबाट कोही पनि नभएको भन्दै माओवादीका नेताहरूले राष्ट्रिय सभा अध्यक्षको पदलाई प्रतिष्ठाको विषय बनाएका थिए ।
तर, राष्ट्रिय सभाको निर्वाचनअघि माओवादीले कांग्रेस नेता कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्षमा समर्थन गर्ने वचन दिएको दाबी गर्दै कांग्रेस नेताहरूले राष्ट्रिय सभा अध्यक्ष माओवादीलाई नछोड्ने सङ्केत गरेका थिए । त्यस विषयमा कुरा नमिलेर दुई दलको सहकार्य टुटेको बताइएको थियो । पछि प्रधानमन्त्री प्रचण्डका आफन्त नारायणप्रसाद दाहाल राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भए ।
अहिले विशेष गरी ओली र प्रचण्डबीच विभिन्न विषयहरूमा मतभेद देखापरेको बताइएको छ । वर्तमान सरकारले ल्याएको बजेटमा समेत ओलीले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गरेका थिए भने सांसदहरूले पनि संसद्मा बजेटको आलोचना गरेका थिए ।
एमाले वृत्तबाट सरकारका कामकारबाहीप्रति पछिल्ला दिनमा सार्वजनिक रूपमै नकारात्मक टिप्पणीहरू पनि भइरहेका छन् । त्यसले अहिलेको सत्ता साझेदारी दीर्घकालीन नहुने सङ्केत देखाएको कतिपयले बताउँदै आएका थिए । विष्णु पोखरेल/बीबीसी नेपालीबाट
FACEBOOK COMMENTS