काठमाडौं । नेकपा एमालेले राजीनामा दिन गरेको अनुरोध प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् ।
प्रचण्डले अनुरोध अस्वीकार गरेपछि एमालेले सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने निर्णय गरेको छ ।
हिजो मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आज बुधबारसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
संसदमा रहेका दुई वटा ठूला दल मिलेर सरकार बनाउने निर्णय गरिसकेपछि प्रधानमन्त्री प्रचण्डले स्वतः राजीनामा गरेर मार्ग प्रशस्त गर्न एमाले र कांग्रेसले अनुरोध गर्दै आएका छन् । तर, प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने छाँट देखाएपछि सरकारलाई अल्पमतमा पार्ने निर्णय एमालेले गरेको बताइएको छ । कांग्रेस–एमालेको अनुरोध स्वीकार गरी राजीनामा दिँदा प्रचण्डको राजनीतिक कद उचो हुने भए पनि उनले त्यो अवसर गुमाएको एमाले नेताहरूको भनाइ छ । एमालेले समर्थन फिर्ता लिँदा मात्रै प्रधानमन्त्रीले प्रक्रियामा अघि बढ्न पाउँछन् ।
गत सोमबार नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति जुटेको छ । सहमति अनुसार, पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बन्ने तयारी छ ।
नयाँ सरकार गठनका लागि एमालेले भने जस्तो आज दिनभरमा प्रचण्डले गर्लात मार्गप्रशस्त ?
FACEBOOK COMMENTS