काठमाडौं । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने दुई जना गेष्टहाउस सञ्चालकलाई प्रहरीले पक्रिएको छ ।
पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ ठेगाना भएका ३२ वर्षीय नवीन थापा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१ ठेगाना भएका १९ वर्षीय उज्वल खड्का छन् ।
उनीहरू काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित रामेछाप खाजाघर एण्ड गेष्टहाउसका संचालक हुन् ।
नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाएको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई बुधबार पक्राउ गरेको हो । त्यस क्रममा प्रहरीले सो गेष्टआउसबाट ६ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ ।
प्रहरीका अनुसार गेष्टहाउसका सञ्चालकद्वय थापा र खड्काले आर्थिक प्रलोभनमा पारी ललाईफकाई वेश्यावृत्तिमा लगाएको, शारीरिक सम्पर्क राखेमा प्रतिव्यक्ति पाँच सय रूपैयाँ दिने भनी प्रलोभन देखाई रकम समेत नदिएको खुल्न आएको छ । सञ्चालकले भने प्रतिग्राहक ४/५ हजार रूपैयाँसम्म लिने गरेको पाइएको छ ।
ग्राहकसँग शारीरिक सम्पर्क राखेको कुरा आफन्तलगायत साथीहरूलाई भनिदिने भनी डर त्रासमा पारी उनीहरूले निर्दोष बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले बताएको छ ।
उनीहरूउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
FACEBOOK COMMENTS