काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ ।
आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
यसअघि शुक्रबार झातर्फका कानुन व्यवसायीहरू वरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरूषोत्तम अर्याल र मणिराम उपाध्यायले बहस पूरा गरेका थिए ।
यस्तै जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखे र आइतबारका लागि पेसी तोकिएको थियो ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै मोटो रकम असुलेर गरिएको ठगीमा झाको पनि संलग्नता रहेको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उनीविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको छ ।
FACEBOOK COMMENTS