काठमाडौं । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-७ स्थित तिपेनीमा सुख्खा पहिरो खसेको छ । उक्त पहिरोले इन्द्रावती नदी आंशिक रूपमा थुनिएको छ ।
जिल्लाका एक प्रहरी अधिकारीका अनुसार पहिरो खसेर ढुंगा, माटोसहितको गेग्रान खस्दा नदी आंशिक थुनिएको हो । तर, तत्काल थप खतराको सम्भावना भने नरहेको ती अधिकारीले बताए ।
सुख्खा पहिरो दोहोरिएको अवस्थामा भने जोखिम थप बढ्नेछ । त्यस अवस्था आउन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली तयारी अवस्थामा छन् ।
पहिरो खसेपछि जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानान्तरण गर्न सेनाको इन्द्रध्वज गणबाट फौज खटिएको छ ।
जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चोकले विज्ञप्ति जारी गर्दै खोलामा एक्कासी बाढी आउन सक्ने जोखिम भएकाले तटीय क्षेत्रमा बस्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
पाँचपोखरी थाङपालका वडा नं. ७ र ८, मेलम्ची नगरपालिकाका वडा नं. ७, ९, ११, १२ र १३ तथा इन्द्रावती गाउँपालिकाका वडा नं. १०, ११ र १२ सहितका तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन भनिएको हो ।
FACEBOOK COMMENTS