काठमाडाैं । भारतीय चेम्बर अफ कमर्सद्वारा भारतको नयाँ दिल्लीमा आयोजित ‘दोस्रो इमर्जिङ एसिया बैंकिङ सम्मेलन र पुरस्कार’ कार्यक्रममा गरिमा विकास बैंक लिमिटेड ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक’ अवार्डबाट सम्मानित भएको छ ।
बिम्स्टेक देशहरू नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरूले भाग लिएको उक्त विधाको अवार्ड प्रतिस्पर्धामा नेपालको गरिमा विकास बैंक सो अवार्ड पाउन सफल भएको हो ।
कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरूले यो अवार्ड पाउँछन् । अवार्डको प्राप्तिसँगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षितसमेत रहेको कुरा बैंकले फेरि एकपल्ट पुष्टि गरेको छ ।
कार्यक्रममा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ इकाइ प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।
सो अवसरमा आयोजित ‘ड्राइभिङ इफिसियन्सिज एक्रोस दि भ्यालु चेन’ प्यानल डिस्कसन कार्यक्रममा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्याय तथा विकास बैंकर्स संघ, नेपालका प्रतिनिधि वक्ताका रूपमा सहभागी थिए ।
सो कार्यक्रममा उनले नेपालको बैंकिङ परिदृष्य, बैंकिङ प्रविधिको प्रयोग र आगामी चुनौतीका सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।
उक्त कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उपाध्यायसँगै बैंक अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जी कादिन, स्टेट बैंक अफ इन्डियाका चिफ जनरल म्यानेजर राजीव रञ्जन प्रसाद र न्यूजेन सफ्टवेयर टेक्नोलोजी प्रालिका उपाध्यक्ष तथा दक्षिण एसिया व्यवसाय प्रमुख सुनिल पण्डिताले मुख्य वक्ताका रूपमा धारणा राखेका थिए ।
सो सम्मेलनमा श्रीलंकाको केन्द्रीय बैंकका डेपुटी गभर्नर र बंगलादेशको केन्द्रीय बैंकका कार्यकारी निर्देशक पनि वक्ताका रूपमा सहभागी थिए ।
काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५० वटा एटीएममार्फत ग्राहकहरूलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।
FACEBOOK COMMENTS