काठमाडौं । २०८० सालको साहित्यको बहुप्रतिष्ठित मदन पुरस्कार पुरस्कार मोहन मैनालीको पुस्तक ‘मुकाम रणमैदान’ ले पाउने भएको छ ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले यस कृति लेखनका लागि मोहन मैनालीलाई मदन पुरस्कार-२०८० बाट सम्मान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि चार लाख रूपैयाँ रहेको छ ।
यसअघि गुठीले पुरस्कारका लागि पाँच कृतिहरू छनोट गरेको थियो ।
छनोट भएका पुस्तकहरूमा मैनालीको ‘मुकाम रणमैदान’ सहित भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको ‘नुन-तेल’, भावेश भुमरी र प्रणिता चाम्लिङको ‘भावलिपि’ र रोशन थापा ‘नीरव’ को ‘सन्त्रासका साठी दिन’ रहेका थिए ।
वि. सं. २०१२ मा स्थापित मदन पुरस्कार गुठीले पहिलोपल्ट २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ कृतिलाई मदन पुरस्कार अर्पण गरेको थियो ।
यसगैरी जगदम्बाश्री-२०८० बाट प्रा. डा. योगेन्द्रप्रसाद यादवलाई सम्मान गर्ने निर्णय भएको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए ।
FACEBOOK COMMENTS