काठमाडौं । चर्चित कार्यक्रम ‘मिस्टर एण्ड मिस लियो, २०२४’ आउँदो अक्टोबर ५ मा हुने भएको छ । बहु-डिस्ट्रिक्ट काउन्सिल नेपालले मंगलबार सर्वनाम थिएटरमा पत्रकार सम्मेलन गर्दै यस बारेमा जानकारी दिएको हो ।
यो कार्यक्रम बहु-डिस्ट्रिक्ट काउन्सिल नेपालद्वारा आयोजित हुनेछ, जसमा १५ वटा डिस्ट्रिक्ट काउन्सिलहरूले सहभागिता जनाउने छन ।
संस्थाले दिएको जानकारीअनुसार यो प्रतियोगिता काठमाडौंको बूढानीलकण्ठस्थित लेमन ट्री प्रिमियरमा आयोजना हुनेछ, जसमा प्रत्येक डिस्ट्रिक्टबाट एक पुरूष र एक महिला गरी २ जना सहभागीहरूले यस कार्यक्रममा प्रतिनिधित्व गर्नेछन ।
कार्यक्रमका समन्वयक इन्जिनियर मनीष अर्यालका अनुसार प्रतियोगितामा विजयी हुने पुरूष र महिला दुवैलाई ५० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ भने दोस्रो र तेस्रो स्थान हासिल गर्नेलाई क्रमशः २० हजार र १० हजार रूपैयाँ नगद पुरस्कार दिइनेछ । यस कार्यक्रममा भाग लिन इच्छुक व्यक्तिहरूले ५ हजार रूपैयाँ शुल्क तिर्नुपर्नेछ ।
सम्मेलनमा बताइएअनुसार प्रतियोगिताको तयारीस्वरूप १५ दिने प्रशिक्षण कार्यक्रम आयोजना गरिनेछ । यस क्रममा नेतृत्व विकास, आत्म-संवर्द्धन, र्याम्प वाक, पोर्टफोलियो निर्माणलगायतका विभिन्न तालिमहरू दिइनेछ । प्रशिक्षण कार्यक्रम सेप्टेम्बर १५ पछि सर्वनाम थिएटरमा आयोजना हुनेछ ।
कार्यक्रमको उद्देश्यप्रति प्रकाश पार्दै लियो डिस्ट्रिक्ट काउन्सिलका उपाध्यक्ष प्रवेशकुमार केसीले भने, ‘कार्यक्रमको मुख्य उद्देश्य युवाहरूलाई आत्मविश्वास वृद्धि, सक्षम र सफल भविष्यका लागि तयार पार्नु हो ।’
कार्यक्रमको उद्घाटन लियो मल्टिपल डिस्ट्रिक्ट अध्यक्ष लियो अस्मिता लामिछानेले गरेकी थिइन्, जसमा प्रमुख अतिथि लायन पंकज जालानलगायत अन्य विशिष्ट व्यक्तिहरू पनि उपस्थित थिए ।
१८ देखि ३१ वर्षका लियो सदस्यहरूले जसले कम्तीमा एक वर्ष लियोको सदस्यता लिएका छन्, उनीहरूले यस कार्यक्रममा सहभागिता जनाउन सक्ने बताइएको छ । यो प्रतियोगिताले युवाहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास आयोजकले गरेको छ ।
FACEBOOK COMMENTS