गण्डकी । गाउँघरतिर अरिङ्गाल सिकार गर्नुलाई आँटिलो काम मानिन्छ । अरिङ्गालका गोला पोल्दा अरिङ्गालले टोकेर मृत्यु भएका घटना बेलाबेला सार्वजनिक भइरहन्छन् । ज्यानकै बाजी लगाएर अहिले पनि अरिङ्गालको सिकार गरिन्छ ।
अरिङ्गालको लार्भा स्वादिष्ट र पौष्टिक मानिने हुँदा यसको सिकारमा मानिसहरू लालयित हुन्छन् । पछिल्लो समय होटल र रेष्टुराँमा समेत अरिङ्गालका परिकार पाइन थालेका छन् । कतिपयलाई अरिङ्गाल अर्थोपार्जनको माध्यम बनेको छ । किराँत समुदायमा त कुलपितृलाई अरिङ्गाल चढाउने चलन नै छ ।
विषालु भइकन पनि परागसेचन र पर्यावरणीय सन्तुलनमा मद्दत पुर्याइरहेको अरिङ्गालको अप्राकृतिक ढङ्गले सिकार भइरहेकामा जानकारहरूले भने चासो व्यक्त गरेका छन् । प्राकृतिक कूचीकार र रोगव्याधि नियन्त्रकसमेत मानिने अरिङ्गाललाई संरक्षण गरिनुपर्ने उनीहरूको भनाइ छ ।
त्रिभुवन विश्वविद्यालयको प्राणी शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा इन्द्रप्रसाद सुवेदीले मौरी प्रजातिमा पर्ने अरिङ्गाल, बारूलालगायत कीराको परागसेचनमा महत्त्वपूर्ण भूमिका रहेको बताए ।
‘पर्यावरणीय चक्रमा पनि कीरा-फट्याङ्ग्राको महत्त्वपूर्ण भूमिका हुन्छ, बारूला र अरिङ्गालले बोटबिरूवामा लाग्ने कीटजन्य रोग नियन्त्रणमा पनि सहयोग गर्छन्,’ उनले भने, ‘प्रकृतिलाई सन्तुलित बनाउने कीरा-फट्याङ्ग्राको संरक्षणमा समुदायमा सचेतना जगाउनु आवश्यक छ ।’
व्यवस्थित सिकार गर्दैमा लोप नै हुने खतरा नरहे पनि घातक ढङ्गले सिकार गरेमा भने अरिङ्गाल हराउँदै जान सक्ने उनको भनाइ छ । डा सुवेदीले बासस्थानमा बाधा पुगेको र जिस्काएको अवस्थामा मात्र अरिङ्गालले मानिसलाई चिल्ने गरेको बताए ।
‘अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले यसप्रति मानिसहरूमा भयसँगै नकारात्मक धारणा व्याप्त छ,’ उनले भने, ‘असुरक्षाको महसुस भयो भने अरिङ्गालले पनि आफ्नो प्रतिरक्षा गर्छ, यो तरिका हरेक जीवजन्तुमा रहेको हुन्छ ।’
डा सुवेदीले नेपालमा मौरीमा जति अध्ययन-अनुसन्धान बारूला, अरिङ्गालगायत कीरामा हुन नसेको बताए । प्राकृतिक या मानवीय कारणबाट कीरा-फट्याङ्ग्रा नासिँदै गएमा पारिस्थितिक पद्धतिमा असर पुग्ने उनको भनाइ छ ।
डिभिजन वन कार्यालय, कास्कीका प्रमुख कोमलराज काफ्लेले वनजङ्गलमा पाइने जुनसुकै जीवजन्तु र कीटपतङ्ग नष्ट गर्नु कानुनविपरीत हुने बताए । त्यस्ता क्रियाकलाप राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार दण्डनीय मानिने उनको भनाइ छ ।
‘झट्ट सुन्दा कीरा-फट्याङ्ग्राको विषय सामान्य जस्तो पनि लाग्न सक्छ, तर समुदायमा यसबारे सचेतनाको खाँचो छ, रूखमा आगो लगाएर अरिङ्गालको गोलो निकाल्नु पर्यावरणीय दृृष्टिले पनि उपयुक्त छैन ।’ त्यस्तो कार्य गर्दा कतिपय ठाउँमा रूखका ठूल्ठूला हाँगा र बोटसमेत काट्ने गरिएको उनको भनाइ छ ।
प्रमख काफ्लेले गोरखा, म्याग्दीलगायत ठाउँका होटलहरूले अरिङ्गालका परिकार बेच्न थालेपछि सम्बन्धित जिल्लाका सरोकार भएका पक्षबीच छलफल चलाएको बताए । ‘तत्काललाई कानुनी कारबाहीभन्दा पनि व्यवसायी र स्थानीयवासीहरूमा सचेतना अभिवृद्धि गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अप्राकृतिक र घातक तरिका अपनाएर अरिङ्गालको सिकार गर्नुहुँदैन ।’ कार्यालयले विभिन्न स्थलमा उक्त विषयमा सचेतनामूलक सूचनापाटी पनि राखेको प्रमुख काफ्लेले बताए ।
उनले मौरी अग्लो स्थानमा पुग्न नसक्ने हुँदा अग्ला रुख र भीरमा बस्ने अरिङ्गालले बोटबिरूवामा परागसेचन गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । ‘अरिङ्गाल गर्मी ठाउँमा पनि बाँच्न सक्ने ज्याद्रो स्वभावको हुन्छ, जलवायु परिवर्तनका कारण पृथ्वीको तापमान बढिरहेका बेला यस्ता कीटपतङ्गले पर्यावरण सन्तुलनमा सहयोग गर्छन् ।’ प्रायः अग्ला रूख, पाखा र भीरपहरामा गोलो लगाएर बस्ने अरिङ्गालले आँप, नासपाती आदिका रूखमा बस्न बढी रूचाउने प्रमुख काफ्लेले बताए ।
चीनलगायत कतिपय देशमा घरघरमै अरिङ्गालको खेती गर्ने गरिएको उनले सुनाए । विश्वभर कीटपतङ्गको घट्दो अवस्थाका कारण वनस्पतिजन्य उत्पादनमा ह्रास हुँदै आएको उनको भनाइ छ । अग्ला रूख, वनस्पति तथा स्थानहरूमा अरिङ्गाल, बारूलालगायत परागसेचनको मुख्य माध्यमका रूपमा रहेको प्रमुख काफ्लेले बताए । पर्यावरण संरक्षणका साथै खानेकुराको उत्पादनमा कीरा-फट्याङ्ग्राको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
‘सामान्यतया एक गोला अरिङ्गालले एक दिनमा तीन हजारभदा बढी लामखुट्टे तथा हानिकारक कीराहरू खाई प्राकृतिक सन्तुलन कायम गर्न मद्दत गर्ने अध्ययनले देखाएको छ,’ उनले भने, ‘कीरा-फट्याङ्गा भएनन् भने परागसेचन हुन नपाई बोटबिरूवामा फल नै लाग्दैन, ती नहुँदा प्रकृति र मानव जाति पनि रहँदैन ।’ अरिङ्गालको टोकाइबाट मानिसको मृत्युसमेत हुने भएकाले वनजङ्गलमा रमाइरहेको कीरालाई जभाभावी नजिस्काउन र सिकार नगर्न उनले सुझाए ।
शिक्षण अस्पतालका चिकित्सक मिलेर गरेको एक अनुसन्धानले अरिङ्गालको टोकाइबाट घाइते हुनेमध्ये २५ प्रतिशत मानिसको मृत्यु हुने गरेको देखाएको प्रमुख काफ्लेले बताए । अरिङ्गालको खिलमा हुने ‘मेलेटिन’ र ‘एपामिन’ नामक विषालु पदार्थले मानिस वा अन्य जन्तुको कोषलाई छेड्ने र रक्तनली हुँदै मस्तिष्कसम्म पुगेर रक्तसञ्चारमा अवरोध गर्ने विभिन्न स्वास्थ्य अनुसन्धानको प्रतिवेदनमा उल्लेख छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य प्रेम लामिछानेले पछिल्लो समय वनजङ्गलमा अरिङ्गालका गोला कम देखिन थालेको सुनाए । ‘अरङ्गाल पोलेर खाने चलन पहिलेदेखिकै हो, अहिले पनि फाट्टफुट्ट रूपमा सिकार गर्ने गरिएको छ,’ उनले भने, ‘आगो लगाएर बोटबिरूवामै हानि पुग्ने गरी अरिङ्गालको सिकार गर्नु उपयुक्त छैन, यसतर्फ समुदाय नै सजग रहनुपर्छ ।’
वन क्षेत्रका महत्त्वपूर्ण मुद्दा पनि ओझेलमा पारिएको भन्दै उनले पर्यावरणसँग जोडिएका स-साना विषय नियामक निकायहरूको पनि प्राथमिकतामा नपरेको उल्लेख गरे ।
नेपालमा अरिङ्गाल/बारूलाका ११ प्रजाति रहेको बताइन्छ । यी दुई प्रजाति साउनदेखि मङ्सिरसम्म बढी सक्रिय हुने गरेका छन् । अरिङ्गालको देख्न सक्ने क्षमता धेरै हुने र यामअनुसार बासस्थान फेर्ने गरेको जानकारहरू बताउँछन् । फुलबाट लार्भा, लार्भाबाट प्युपा र प्युपाबाट वयस्क हुनु अरिङ्गालको जीवनचक्र हो । अरिङ्गालले मौरी, झिँगा आदि कीरालाई आहार बनाउने गरेको छ । पहाडी भेगमा रातो र कालो गरी दुई थरी अरिङ्गाल पाइने गरेका छन् । -रासस
FACEBOOK COMMENTS