पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा रहेको पाडा (राँगा) बजारका लागि गरिने तस्करीले स्थानीय कृषक आजित भएका छन् ।
नेपाल–भारत सिमानाको फाइदा उठाउँदै भारतबाट पाडा तस्करी गर्दा स्थानीयको धानबाली कुल्चेर नष्ट हुने गरेको छ । आइतबार र बिहीबार लाग्ने पाडा बजारका लागि भारतको इनर्वाबाट वडा नम्बर २ को दसौंता, जानकीटोला र लक्ष्मीपुर हुँदै कृषकले लगाएको धानखेत भएर आउने तस्करीको पाडा (राँगा) ले धानबाली कुल्चेर नष्ट गर्दै जगरनाथपुरस्थित पाडा बजार पुर्याउने गरेका छन् ।
तस्करी गरी ल्याएको पाडा धानबाली रहेको खेत हुँदै ल्याउने गरेकाले आफूहरु मारमा परेको स्थानीय रूपेश यादव बताउँछन् । उनका अनुसार कयौँपटक प्रहरीलाई सूचना दिँदा पनि सुनुवाइ भएको छैन । ‘एकातिर भन्छौँ आउँदाआउँदै तस्करलाई सूचना पाइहाल्छ, तस्करीको पाडा (राँगा) सङ्कलन केन्द्रमा पुगिहाल्छ । प्रहरीको मिलोमतोले गुनासो गर्दागर्दै आजित भइरहेका छौँ,’ स्थानीय यादवले गुनासो पोखे ।
नेकपा एमालेका नेता जालिम मियाँका छोरा जफिर मियाँ र उनका साथी मन्सफ मियाँले पाण्डेपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) प्रमोदप्रसाद साह र जानकी टोल प्रहरी चौकीका प्रहरी नायब निरीक्षक (सई) भरत सिलवालको मिलोमतोमा खुल्ला नाकाको फाइदा उठाउँदै पाडा तस्करी गरिरहेको स्थानीयहरू बताउँछन् ।
तस्करबाट आजित भएका स्थानीयले प्रहरीलाई खबर गर्नासाथ पाडा तस्करहरूले खबर पाएर अर्को रुटबाट बजारसम्म पुर्याउने गरेको अर्का स्थानीय गोपीचन्द पटेल बताउँछन् । उनका अनुसार जगरनाथपुरको पाण्डेपुर, गढैया र बिजवनिया हुँदै शनिबार र बुधबार रातिसम्म आइतबार र बिहीबार बजारका लागि चार/चारवटा ट्रकमा लोड हुनेगरी पाडा (राँगा) तस्करी भइरहेको छ ।
‘एउटा ट्रकमा ३० वटासम्म पाडा अटाउँछन् । एक हप्तामा ४/४ वटा गरी ८ वटा ट्रक लोड भएर यहाँबाट जाने गरेको हप्ता दिनमै दुई सयभन्दा बढी पाडा जगरनाथपुर वरपर कहाँबाट कसरी उत्पादन हुन्छ कसैलाइ पत्तो छैन,’ अर्का एक किसानले भने, ‘नेपाल भेटेरिनरी काउन्सिलमा दर्तावाल प्राइभेट पशु चिकित्सकहरुले भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र जारी गर्ने गरेको छ ।’
हाताहाती पैसा लिएर स्वास्थ्य प्रमाणित गरिदिने र प्रहरीले तस्करी गर्न छुट दिएकाले हप्तैपिच्छे तस्करी बढेको किसानहरू बताउँछन् ।
FACEBOOK COMMENTS