काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले शेयरधनीहरूलाई आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश स्वीकृत गरेको छ ।
सोमबार बसेको बैंक सञ्चालक समितिको ४६३औं बैठकले उक्त निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुने गरी यस्तो निर्णय भएको हो ।
बैठकले आव २०८०/८१ को वितरणयोग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड नौ लाख ७४ हजार छ रूपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार नौ सय ६० रूपैयाँ २३ पैसा बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने दुई करोड ९८ लाख ९६ हजार सात सय ८७ रूपैयाँ ३८ पैसासहित जम्मा ५९ करोड, ७९ लाख ३५ हजार सात सय ४७ रूपैयाँ ६१ पैसा दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरूलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकले जानकारी दिएको छ ।
२०६४ साल वैशाख ७ गतेबाट कारोबार सञ्चालन गरी विगत १८ वर्षदेखि वित्तीय सेवा प्रदान गर्दै आइरहेको सिटिजन्स बैंकले सर्वसाधारणलाई शेयर जारी गरेको आर्थिक वर्ष २०६५/६६ देखि नै शेयरधनीहरूलाई निरन्तर लाभांश वितरण गर्न सफल भएकोे छ । आर्थिक वर्ष २०६५/६६ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको औसत लाभांश दर ११.५६ प्रतिशत रहेको छ भने प्रस्तावित लाभांशसहित पछिल्लो १० वर्षको औसत लाभांश दर १२.१० प्रतिशत रहेको छ ।
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट करिब १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS