काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको दाबी गरेका छन् ।
फास्ट फुड एशोसिएसन नेपालले शनिबार गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा मन्त्री गुरुङले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताए ।
देशका विभिन्न स्थानमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयो, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन् । यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ, मन्त्री गुरूङले भने । उनले दसैँतिहारमा यातायात सेवा सहज ढङ्गले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको तथा सडक विभागसँगको समन्वयमा अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको बताए ।
सञ्चारमन्त्री गुरुङले लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको, लगानी बढेपछि सेवा क्षेत्र विस्तार भई रोजगारीका अवसर सृजना हुने भएकाले त्यसप्रति नै सरकारले ध्यान दिएको बताए । उनले भने, स्थिर सरकार भएन भने नीतिगत स्थायित्व हुँदैन । नीतिगत स्थायित्व भएनभने विकास र समृद्धिले फड्को मार्न सक्दैन । राजनीतिक स्थायित्वका लागि नेकपा एमालले नेपाली कांग्रेससँगखसहकार्य गरेको हो ।
नेपाली जनताले तत्काल परिणाम खोजेका तर नीतिगत सुधार गरी त्यसलाई कार्यन्वयनमा लैजान केही समय लाग्ने भएकाले तत्काल परिणामको अपेक्षा गर्नु स्वाभाविक नहुने तर्क गरे ।
जनताले महसुस गर्नेगरी परिणाम निकाल्न सरकार क्रियाशील रहेको उनको कथन थियो । त्यस अवसरमा एसियाली खेलकुदमा पदक विजेता एरिका गुरूङ, सेफ गोविन्दनरसिंह केसीलगायत उच्च शिक्षा हासिल गरेका ‘फास्ट फुड’ व्यवसायीका सन्तति, लायन्स क्लबलगायत सामाजिक सङ्घसंस्थालाई सम्मान गरिएको एशोसियसनका अध्यक्ष राजु श्रेष्ठले बताए ।
FACEBOOK COMMENTS