वीरगञ्ज (पर्सा) । छठ पर्वसँग सम्बन्धित गीत गाएर प्रसिद्धि कमाएकी भारतीय लोकगायिका शारदा सिन्हाको निधन भएको छ । भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराइरहेकी ७२ वर्षीया गायिका सिन्हाको मङ्गलबार साँझ निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भोजपुरी तथा मैथली भाषाकी लोकगायिका सिन्हाले गाएका लोकगीत भारतीयसहित नेपाली गीत, सङ्गीतका पारखीले मन पराउँदै आएका छन् । उनले गाएको छठसँग सम्बन्धित ‘डोमिनी बेटी सुप लेले ठार छे’, ‘अँगना में पोखरी खनाइब, छठी मैया आइथिन आज’, ‘मोरा, भैया गैल मुंगेर’ लगायत गीत चर्चित छन् ।
वीरगञ्जका कलासाहित्य क्षेत्रका अनुरागीहरूले पनि लोकगायिका सिन्हाको निधनले स्तब्ध बनाएको प्रतिक्रिया दिएका छन् । नारायणी वाङ्मय प्रतिष्ठानका पूर्वसचिव मनोज उपाध्यायले लोकगायिका सिन्हालाई भोजपुरी गीतका उज्ज्वल नक्षत्रको रूपमा स्मरण गरे ।
‘सिन्हाले लोकआस्थाका रूपमा मनाइने पर्व छठको गीतलाई आफ्नो सुुमुधुर आवाजमार्फत जनस्तरमा पुर्याउनुभएको छ । उहाँले गाउनुभएका छठका गीत अहिले पनि वीरगञ्जका विभिन्न छठ घाटहरूमा गुञ्जिरहेका छन्,’ उनले भने, ‘लोकगायिका सिन्हाले भोजपुरीसँगै चर्चित हिन्दी गीतहरू पनि गाउनुभएको छ ।’
प्रतिष्ठानका पूर्वसचिव उपाध्यायले लोकगायिका सिन्हाको निधनले भोजपुरी कला र साहित्य क्षेत्रले अपूरणीय क्षति बेहोरेको बताए ।
‘सिन्हाजस्तो लोककलाकार पाउन भोजपुरी कला र साहित्य क्षेत्रले अझै धेरै समय कुर्नुपर्ने हुन्छ,’ उनले भने, ‘गीत, साहित्य, सङ्गीतले भूगोल र सीमालाई हेर्दैन । साहित्य, कला र सङ्गीत विश्वसँग जोडिएका विषय भएकाले पनि उहाँको निधनले हामी स्तब्ध भएका छौँ ।’
पूर्वसचिव उपाध्यायले सिन्हा भोजपुरी कला र गीतप्रति रूचि र लगाव राख्ने अनुरागी भएको स्मारण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।
लोकगायिका सिन्हाको जन्म भारतको विहार राज्यमा भएको थियो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य एवं नेपाल भोजपुरी समाजका सहसचिव अजमत अली अन्सारीले भारतीय लोकगायिका सिन्हाको निधनले भोजपुरी सङ्गीत क्षेत्रले महान् श्रष्ठा गुमाएको बताउँदै उनलाई स्मरण गरे ।
‘भारतीय हिन्दी गीत, सङ्गीतमा जसरी लता मङ्गेशकरलाई चिनिन्छ, त्यस्तै गरी भोजपुरी गीतका क्षेत्रमा शारदा सिन्हालाई चिन्ने गरिन्छ,’ उनले भने, ‘सिन्हाले छठका गीत गाएर प्रसिद्धि कमाउनुभयो । छठकै समयमा उहाँको निधन भएकाले गीतका अनुरागीहरूलाई मर्माहत बनाएको छ ।’
भारतीय लोकगायिका सिन्हाले भारतको लब्धप्रतिष्ठित पद्यश्री र पद्यभूषण अवार्डसमेत प्राप्त गरेकी थिइन् । उनका एक छोरा र एक छोरी छन् ।
लोकगायिका सिन्हाको निधनप्रति भारतका प्रधानमन्त्री नरेन्द्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS