काठमाडौं । देशैभरिका डिजिटल स्टार्टअपहरूको सहभागितामा काठमाडौंमा २ दिने स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रमको आयोजना हुँदैछ । लिभिङ विथ आईसीटीले आयोजना गर्ने यस प्रर्दशनीमा सयभन्दा बढी स्टार्टअप र इन्नोभेसनहरूको प्रदर्शनी रहने छ । यही कार्तिक २९ र ३० गते काठमाडौं बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने कार्यक्रममा ठूलो संख्यामा डिजिटल स्टार्टअप र इन्नोभेसनहरूको सहभागिता रहनेछ ।
आईसीटी अवार्ड-२०२४ को प्रि-इभेन्टको रूपमा आयोजना हुने उक्त कार्यक्रममा द स्क्वाइड अफ चेन्जमेकर र इन्जिनियर भ्लग्सको सहकार्य रहेको छ । यस फेस्टमा आईसीटी अवार्ड-२०२४ को प्रतिस्पर्धाबाट छानिएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरूको शोकेस गर्नेछन् । यसैगरी आयोजकले सातै प्रदेशबाट छनोट गरेर ल्याएका ३० बढी स्टार्टअपहरूको पनि यस कार्यक्रममा सहभागिता रहनेछ । यसैगरी, सहआयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स र गेमहरू सञ्चालन गर्नेछ भने इन्जिनियर भ्लग्सले रोबोट प्रतिस्पर्धा गराउनेछ ।
स्टार्टअप एण्ड आइडिया फेस्ट नेपालमै केही नयाँ काम गरिरहेका स्टार्टअप, विद्यार्थी र इन्नोभेटरहरूलाई प्रवर्द्धन गर्न आयोजना गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । यस कार्यक्रममार्फत सरकार, इकोसिस्टम विकासमा योगदान दिने संस्था र सरोकारवालासँगै लगानी र सहयोग गर्न चाहनेहरूलाई सहकार्यको लागि आयोजकले आह्वान गरेको छ । आइडिया र प्रडक्टमा लगानी गर्न इच्छुक भीसीहरूका लागि फेस्टमा नेटवर्किङको व्यवस्था पनि गरिने आयोजक लिभिङ विथ आईसीटीले जानकारी दिएको छ ।
प्रविधि क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित अवार्डको रूपमा स्थापित आईसीटी अवार्डको प्रि-इभेन्टको रूपमा आयोजना हुने स्टार्टअप फेस्ट नेपालकै ठूलो स्टार्टअप प्रवर्द्धनात्मक कार्यक्रमको रूपमा स्थापित भएको छ । यस कार्यक्रममा प्रदर्शनीमा सहभागी हुन अवलोकनकर्ताले कुनै शुल्क तिर्नु पर्दैन । विभिन्न विद्यालय र कलेजहरूबाट अवलोकनका लागि आउने विद्यार्थीहरूको लागि थप सहजीकरण गरिने आयोजकले जानकारी दिएको छ ।
दुई दिने प्रदर्शनीसँगै काठमाडौंबाहिरबाट सहभागी हुन आएका स्टार्टअपहरूलाई मेन्टरिङ तथा इन्क्युवेसन सेसनहरू सञ्चालन हुनेछ । किङ्स कलेजको सहकार्यमा बुटक्याम्प, एमआईटी कलेजको सहकार्यमा मेन्टरिङ सेसन, सेडर गेट र एफवान सफ्टसँगको सहकार्यमा इन्डस्ट्री भिजिटका विभिन्न कार्यक्रमहरू सञ्चालन हुनेछन । यी सबै कार्यक्रममा सहभागिताका लागि स्टार्टअपहरूले कुनै शुल्क तिर्नु पर्दैन । सातै प्रदेशका स्टार्टअपहरूबाट हरेक प्रदेशका उत्कृष्ट एक-एक स्टार्टअपलाई आईसीटी अवार्डको ग्राण्ड फिनालेमा सम्मान पनि गरिनेछ ।
आईसीटी अवार्ड-२०२४ का लागि विभिन्न १४ विधामा छनोट प्रक्रिया सञ्चालनमा छ । विभिन्न चरणको छनोटपश्चात् उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसियल इन्नोभेसनहरूले पनि यस कार्यक्रममा सहभागी जनाएर आफ्नो व्यवसायलाई प्रवर्द्धन गर्न सक्नेछन । अवलोकनकर्ताले आफूलाई मन परेका स्टार्टअप र प्रडक्टलाई भोट पनि गर्न सक्नेछन् । आईसीटी अवार्डका विभिन्न अन्य १० विधामा दोस्रो चरणको छनौट प्रक्रिया जारी छ । छनोट प्रक्रियाका लागि १७ जनाको विज्ञ जुरी समिति र १३ जनाको विशिष्ट सल्लाहकार समिति गठन गरिएको छ ।
नेपालबाहिरका स्टार्टअपहरूका लागि साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड पनि आयोजना हुनेछ । नेपालको सबैभन्दा प्रतिष्ठित अवार्डको रूपमा परिचित आईसीटी अवार्डको नवौं सस्करण पुस ५ गते आयोजना हुनेछ । स्टार्टअप एण्ड आइडिया फेस्टसँगै अवार्डका लागि दर्जनौं प्रि-इभेन्टहरू सञ्चालन हुनेछन् । कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्र्टाटअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रूपमा टेलिभिजन सिरिजहरू प्रसारण गर्नेछ ।
FACEBOOK COMMENTS