दुई वर्षपछि आयोजित ‘फीन इलेक्ट्रो टेक २०२४’ मेला आज (आइतबार) सकिँदै छ । ‘प्रविधिको नयाँ आयाम, विद्युतीय सामग्रीमा सुरक्षा र गुणस्तर कायम’ नाराका साथ बिहीबारदेखि सुरू भएको मेलामा विद्युत तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवं यस क्षेत्रसँग आबद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्द्धनका लागि प्रदर्शनी कस्तो भयो, मेलाले कस्तो प्रतिक्रिया पायो ? यिनै विषयमा केन्द्रित रहेर कर्पोरेट खबरले नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव गोपाल अग्रवालसँग गरेको कुराकानी :
आज मेलाको अन्तिम दिन, समग्रमा ‘फीन इलेक्ट्रो टेक २०२४’ कस्तो रह्यो ?
दुई वर्षपछि आयोजना भएको यस ‘फीन इलेक्ट्रो टेक २०२४’ मेला भव्यताका साथ सम्पन्न हुने चरणमा रहेको छ । कात्तिकको २९ गतेबाट सुरू भएको यो मेला आजबाट सकिँदै छ । यो हाम्रो लागि एउटा अवसर हो । उपभोक्ताहरूको उल्लेख्य सहभागिता रहेको हुँदा हामी निकै उत्साहित छौं ।
यो मेलाले विशेषगरी विद्युतीय व्यवसायीहरूलाई के दियो, आम उपभोक्ताहरूले के पाए ?
‘फीन इलेक्ट्रो टेक २०२४’ ले हामी विद्युतीय व्यवसायीलाई उत्साहित बनाएको छ । देशमा आर्थिक मन्दी छ, काम गर्न सकिने अवस्था छैन भन्ने जुन भाष्य बनेको छ, त्यस्तो रहेनछ भन्ने प्रमाणित गरिदिएको छ । हामीलाई पनि लगानी गर्ने, यो क्षेत्रमा काम गर्ने, अझ सक्रिय हुने अवसर मिलेको छ भने उपभोक्ताले मेलाबाट आफूलाई आवश्यक पर्ने वस्तुहरू हेर्ने, त्यसबारे बुझ्ने र केही लिने अवसर मिलेको छ । यो मेलाको सकारात्मक पाटो भनेकै यही हो ।
टेक्नोलोजीको क्षेत्रमा अन्य मुलुकहरू निकै अघि बढिसकेका छन्, हाम्रामा अझै पनि सामानको गुणस्तरलाई लिएर उपभोक्ताबाट बेलाबेलामा प्रश्न उठिरहेको हुन्छ, किन यस्तो भइरहेको छ ?
हामीले गुणस्तरीय सामानमा विशेष ध्यान दिएका छौंं । बिजुलीका तारहरूलगायत सामान गुणस्तर तथा नाप तौल विभागबाट पनि गुणस्तर जाँच भएर आउँछ । यसले गर्दा गुणस्तरमा त्यस्तो धेरै कमजोरी छ जस्तो मलाई लाग्दैन । त्यस्तो भेटिएको खण्डमा हामी तुरून्त सच्याएर अघि बढेको अवस्था छ ।
अहिले बजारको अवस्था कस्तो छ, कति प्रतिशत आयात गर्नुपर्छ ?
हाम्रो बजारको करिब ७५ प्रतिशत आयात हुन्छ भने १ खर्बभन्दा बढीको हाम्रो बजार छ । बजार अझ विस्तार गर्नुपर्छ भन्नेमा हामी केन्द्रित छौं ।
हामी लामो समयदेखि आर्थिक मन्दीको चपेटाबाट गुज्रिरहेका छौं । यो मन्दीले इलेक्ट्रिक क्षेत्रमा कतिसम्म असर पुर्याएको छ ?
साँच्चिकै हामी अहिले आर्थिक मन्दीको चपेटामा परेका छौं । यो मन्दीको असर हाम्रो क्षेत्रमा पनि परेको छ । समग्र व्यवसायमा परेको छ । विशेषगरी रूस-युक्रेन युद्धले हामीलाई असर परेको छ । अहिले आर्थिक संकुचनमा परेका छौं । अहिले ३० देखि ४० प्रतिशतसम्म मात्रै व्यापार छ । मुख्य भनेको अहिले आर्थिक अवस्था चलायमान हुनुपर्छ भन्ने हो । तर, मन्दीको समय छ भनेर हामीले पर्खिनुपर्ने अवस्था छैन । आँट गर्नुपर्छ र सकारात्मक सोचेर अघि बढ्नुपर्छ ।
लगानीको हिसाबले अहिले बैंक तथा वित्तीय क्षेत्रबाट कर्जा प्रवाह हुन सकेको छैन, ब्याजदर एकल अंकमा झरेको छ, तर पनि यो क्षेत्रमा लगानी बढाउन चाहिरहनु भएको देखिन्न, तपाईंहरूलाई लगानी बढाउन के कुराले रोकिरहेको छ ?
अहिले घर निर्माणको काम सुस्त छ । निर्माण सुस्त भएपछि लगानी बढाउन सक्ने अवस्था छैन । सरकारले चालु आर्थिक वर्षको बजेटमा पनि सरकारी भवन निर्माणदेखि अन्य विभिन्न भवन निर्माण त्यति प्राथमिकतामा राखेन । त्यसको असर हामीलाई परेको छ । हेर्दा सामान्य लाग्छ तर सानासाना कुराले हाम्रो व्यापारमा धक्का पुगेको हुन्छ । त्यही भएर पनि यो समयमा लगानी गर्न सक्ने अवस्था छैन, लगानी बढाउने भन्दैमा ल्याएर ‘स्टोर’ गरेर राख्ने कुरा पनि आउँदैन ।
घर बनाउने कामहरू सुस्त गतिमा छन्, यसको प्रभावले यो क्षेत्रलाई कस्तो असर परेको छ ?
सबैभन्दा ठूलो असर नै अहिले यसमै परेको छ । भवन निर्माणका कामहरू सुस्त अवस्थामा छन् । हाम्रो मुख्य व्यापार हुने भनेकै घर निर्माणमा हो । अहिले मन्दीले पर्याप्त निर्माण हुन सकेको छैन । किनभने भवन बनाउने पनि मन्दीमै छन् । उनीहरूले पनि कर्जा ल्याउन सक्ने अवस्था छैन । अर्को समस्या भनेको पहिलापहिला एकै परिवारमा ७-८ जना सदस्य हुन्थे, उनीहरू छुट्टिन्थे र नयाँ घर बनाउँथे । तर, अहिले सन्तान नै कम जन्माउँछन् । भएका युवा पनि विदेश पलायनको बाटोमा छन् । यसले यो व्यवसाय अलिकति संकटको अवस्थामा पुगेको छ ।
मेला ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा राखिएको थियो, कतिको सम्भव भयो ?
हामीले यो मेलालाई उपभोक्ता र व्यवसायीलाई जोड्ने एउटा ‘प्लाटफर्म’को रूपमा लिएका थियौं । हाम्रो उद्देश्य पूरा पनि भएको छ । यसबाट हामीलाई धेरै सिक्ने र व्यवसायलाई नयाँ ढंगबाट सोच्ने, लगानी बढाउने वातावरण पनि बनेको छ । मेलाको अन्तिम दिन आज हो, आजसम्ममा ५० हजारभन्दा बढीले अवलोकन गर्नुभएको छ । यो हाम्रा लागि निकै खुसीको कुरा हो ।
FACEBOOK COMMENTS