काठमाडाैं । आगामी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को व्यग्रताका साथ प्रतिक्षा हुँदै गर्दा एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । प्रायोजनसम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ ।
व्यावसायिक फ्रेन्चाइजमा आधारित यो टी-२० प्रतियोगिता एनपीएलमा एनसेल ‘पावर्ड बाई’ साझेदारको रूपमा आवद्ध भएको छ । यसका लागि गत हप्ता एनसेलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र क्यानका सचिव पारस खड्काले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
यो सहकार्य एनसेलको ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको छ । क्रिकेट भारतीय उपमहाद्वीपकै सबैभन्दा बढी लोकप्रिय खेलकुदमध्ये एक हो । यो एनपीएलको विशेषता भनेको अन्तर्राष्ट्रिय खेलाडीहरूको पनि सहभागीता हो र अन्तर्राष्ट्रिय खेलकुद टीभी च्यानलमार्फत पनि यसको प्रत्यक्ष प्रसारण हुनेछ ।
नेपाल र आम उपभोक्ताहरूलाई सधैं जोडिराख्ने एनसेलको दर्शन क्रिकेट गतिविधिप्रतिको भावना र जोशसँग मेल खान्छ, विशेष गरी जब यसले स्थानीय प्रादेशिक पहिचान बोकेको हुन्छ । यो प्रतियोगितामा सातै प्रदेशले आ-आफ्नो स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरुको अद्वितीय संयोजनका साथ क्रिकेट प्रतिभा प्रस्तुत गर्दैछन् । यसले एनसेलको खेलसँगको सम्बन्धलाई प्रतिबिम्बित गर्दछ र यो खेलकुद र नेपालसँगको अटुट सम्बन्धको कुरा हो ।
जाब्बोरले भने, ‘यू-१९ महिला क्रिकेट टोलीले पहिलो पटक आइसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको उल्लेखनीय उपलब्धि लगत्तै हामी नेपाल प्रिमियर लिगका लागि क्यानसँग ‘पावर्ड बाई एनसेल’ साझेदारी घोषणा गर्न पाउँदा अत्यन्त खुशी छौं । यसले नेपालको क्रिकेट खेलाडीहरूलाई उत्कृष्ट अनुभव र आफ्नो अपार प्रतिभा प्रदर्शन गर्ने मञ्च प्रदान गर्ने उद्देश्य राखेको छ । यो हामीमा रहेको खेलकुद क्षेत्र प्रतिको उच्च सम्मान र आकर्षणको प्रमाण हो । क्रिकेट र खेलकुदप्रतिको हाम्रो प्रतिबद्धता प्रशंसनीय छ, र हामी खेलकुदको विकास, युवा सशक्तीकरण, र सामाजिक एकतामा योगदान गर्दै नयाँ उचाइमा पुग्ने अपेक्षा गर्छौ । यो सहकार्यले वृद्धि विकास, नवप्रवर्तन, र उत्कृष्टताप्रतिको आपसी समर्पणको भावना झल्काउँछ र नेपालको क्रिकेट यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हो ।’
यो साझेदारी केवल नेपालमा खेल प्रतिभा प्रवर्द्धन गर्नका लागि मात्र नभई यस्ता प्रतियोगितालाई सफल बनाउने दर्शक र प्रशंसकहरूको लागि पनि हो । यो सहकार्य संसारभर छरिएर रहेका नेपाली दर्शकहरूको खेलप्रतिको माया र समर्थनको भावना स्वीकार अवसर पनि हो, जसले हालैका विश्वव्यापी प्रतियोगिताहरूमा थुप्रै प्रशंसाहरु बटुलेका छन् ।
एनसेलले आफ्ना ग्राहककालागि लाइभ स्क्रिनिङमार्फत एनपीएलका खेलहरु आफू जहाँ भए पनि हेर्न सकिने सुविधा प्रदान गर्नेछ । यसका साथै एनसेलले खेल मैदानमा विभिन्न गतिविधिहरु आयोजना गर्दै यो प्रतियोगिताभरी ग्राहकहरुका लागि विभिन्न योजनाहरु पनि ल्याउनेछ ।
मंसिर १५ गते देखि पौष ६ गते सम्म नेपालमा सञ्चालन हुने यो प्रतियोगितामा आठ टिमका १६० खेलाडीहरूले कुल ३२ रोमाञ्चक खेलमा समावेश हुनेछन् । सबै खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना गरिनेछ । आठ टिमहरूले राउन्ड-रोबिन फर्माटमा प्रतिस्पर्धा गर्नेछन्, जसमा प्रमुख शहरहरू विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिमलाई प्रतिनिधित्व गर्ने टिमहरू छन् ।
‘एनपीएलको लक्ष्य भनेको क्रिकेट र हाम्रा खेलाडीहरूको विकासमा सहयोग गर्नु हो । त्यसैगरी, हामी एनपीएललाई विश्वकै प्रतिष्ठित क्रिकेट लिगमध्ये एकको रूपमा स्थापना गर्न पनि चाहन्छौं र यस दीर्घकालीन लक्ष्य पछ्याउँदै गर्दा खेलकुदको विकास र प्रवर्धनलाई निरन्तर समर्थन र साथ दिइरहेको एनसेलसँग यो सहकार्यका गर्न पाएकोमा हामी एनसेलप्रति आभारी छौं,’ खड्काले भने ।
एक जिम्मेवार कर्पोरेट नागरिकको रूपमा, एनसेलले आफ्नो स्थापना कालदेखिनै नेपालमा खेलकुदको विकास र प्रतिभा विकासमा महत्वपूर्ण योगदान गर्दै आएको छ । कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ तथा नेपालका पारा-खेलाडीहरूलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिता जनाउन सहयोग प्रदान गर्दै आएको छ ।
यसअघि एनसेलले त्रिकोणत्मक टी-२० आई सिरिज २०२४, आईसीसी लिग २, र नेपाल-क्यानडा एकदिवसीय सिरिजलाई पनि सहयोग गरेको थियो । एनसेलले बिर्तामोड गोल्ड कप र झापा गोल्ड कप लगायतका विभिन्न फुटबल प्रतियोगिताहरूलाई पनि सहयोग प्रदान गरेको थियो ।
यसैगरी, खेलकुदको विकासमा आफ्नो प्रतिबद्धता अनुरुप एनसेलले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सहकार्य गरी ए डिभिजन, यू-१६ फुटबल, महिला राष्ट्रिय च्याम्पियनसिप, र महिला राष्ट्रिय टोलीका कार्यक्रमहरूमा सहयोग गरेको थियो । २०१४ मा क्यानको प्राविधिक सहयोगमा, एनसेलले पहिलो पटक घरेलु क्रिकेट प्रतियोगिता-एनसेल नेपाल प्रिमियर लिगको आयोजना पनि गरेको थियो ।
आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत, एनसेलले गत वर्षदेखि राष्ट्रिय प्यारालिम्पिक समिति (एनपीसी) नेपालसँग सहकार्य गर्दै राष्ट्रिय पारा खेलाडीहरुलाई सहयोग र समर्थन गर्दै आएको छ । गत भदौमा पारा-ताइक्वान्डो खेलाडी पालेशा गोवर्धनले पेरिस प्यारालिम्पिक्स २०२४ मा ऐतिहासिक जित हासिल गरेपछि, एनसेल फाउन्डेसनले उनलाई १० लाख रुपैयाँ पुरस्कार बाट सम्मान गरेको थियो । र अन्य प्यारालिम्पिक टोलीका सदस्यहरूलाई पनि एनसेल फाउन्डेसनले नगद पुरस्कारसहित सम्मान गरेको थियो ।
एनसेल र एनपीसी नेपालको यस साझेदारीमार्फत,एनसेलले राष्ट्रिय पारा खेलाडीहरूको समग्र तालिम, प्रशिक्षण र विकासमा सहयोग जारी राखेको छ । त्यसैगरी, आफ्नो सामाजिक पहल अन्तर्गतनै एनसेलले खेलकुदको विकासलाई समर्थन गर्दै लैनचौर मैदानलाई बहुउद्देश्यीय खेल मैदानको रूपमा पुनःर्निर्माण पनि गरेको छ ।
साथै, एनसेलले वार्षिक रुपमा एनसेल कर्पोरेट गल्फ प्रतियोगिता पनि आयोजना गदै आएको छ । त्यसै मध्येको एक प्रतियोगिता दुई हप्ताअघि सम्पन्न भएका थियो । खेलकुदको महत्वलाई आत्मसात गर्दै, एनसेलले यस क्षेत्रको विकास र वृद्धिलाई प्राथमिकतामा राखेको छ ।
FACEBOOK COMMENTS