काठमाडौं । अभिनेता दीपकराज गिरीले सहकारीको बचत अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले लामिछानेलाई आफूले हिरासतमा पुगेर भेटेको बताएका छन् ।
आफूलाई सत्तामा भएकालाई खासै भेट्न मन नलाग्ने बताउँदै गिरीले लामिछाने सत्तामा हुँदा पनि उनलाई नभेटेको तर हिरासतमा भने भेट्न मन लागेको बताएका छन् ।
साथीलाई सुखमा नभई दुःखमा साथ दिनुपर्ने उद्गार राख्दै गिरीले लामिछाने दोषी वा निर्दोष के हो आफूले भन्ने कुरा नभएको तर उनी निर्दोष छन् भन्ने धेरैको विश्वास रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘म थुनामा भेट्न गएँ उहाँलाई । प्रहरीले क्यामेरा ढोकामै लियो, त्यसैले भित्रको फोटो खिच्न पाउने कुरै भएन । मलाई सत्तामा भएका मान्छेसँग खासै भेट्न मन लाग्दैन, त्यसैले उहाँ मन्त्री हुँदा पनि भेटघाट भएन मेरो । तर, थुनामा चाहिँ भेट्न जान मन लाग्यो । भन्छन् नि, साथीलाई सुखमा होइन दुःखमा सम्झनुपर्छ । उहाँसँगको भेटमा उहाँ आत्मविश्वासी हुनुहुन्थ्यो, डरत्रास वा हिनताबोध केही थिएन । तपाईं दोषी हो वा निर्दोषी, त्यो त मैले भन्ने कुरा होइन । तर, धेरै मानिसको विश्वास छ, तपाईं निर्दोष हुनुहुन्छ । यदि त्यस्तै हो भने तपाईंलाइ चाँडै बाहिर भेट्न पाइयोस्, शुभकामना ! चुप लाग भन्छन् साथीहरू, बोल्ने बानि छ के गर्ने ?’
FACEBOOK COMMENTS