गण्डकी । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि कास्की जिल्ला अदालतमा बयान सुरू हुँदै छ ।
यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरूद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।
कास्की जिल्ला अदालतका चना अधिकारी सूरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरू गर्न लागिएको जानकारी दिए ।
‘गोलामार्फत इजलासको टुङ्गो लागेपछि प्रतिवादीहरूको बयान सुरू हुन्छ, बयान सकिएपछि मात्र थुनछेकको आदेश हुन्छ,’ उनले भने । सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।
लामिछानेसहित १९ जनाविरूद्ध सङ्गठित अपराधमा समेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । यस्तै, लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाईंविरूद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनले बताइन् ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय रूपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । ७४ करोड ३४ लाख ७१ हजार रूपैयाँ बढी बिगो दाबी गरी छविलाल जोशीविरूद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ रूपैयाँ र पछाईंसँग २४ करोड ६७ लाख सात हजार २४ रूपैयाँ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिइन् ।
सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार रूपैयाँ, जोशीविरूद्ध पाँच करोड २६ लाख ६५ हजार रूपैयाँ र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ रूपैयाँ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामा समेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।
FACEBOOK COMMENTS