रसुवा । उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावरको परीक्षण उत्पादन सफल भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ र २ को तातोपानीस्थित भोटेकोशीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युतगृह निर्माण गरिएको छ ।
उक्त विद्युतगृहमा जडित ३३/३३ मेगावाट क्षमताको तीनवटा मेसिनबाट विद्युत उत्पादन हुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिए । तीनवटै युनिट चालु गराइसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत उत्पादन हुने उनले बताए ।
सो आयोजनाको कुल लागत १८ अर्ब ६९ करोड २० लाख रूपैयाँ रहेको बताइएको छ । सन् २०१४ देखि पूर्ण रूपमा निर्माण सुरू भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, वि.सं. २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ ।
रसुवागढी जलविद्युतले वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर तीन अर्ब २५ करोड रूपैयाँ आय गर्ने आयोजनाले जनाएको छ । रसुवागढीमुनि भोटेकोशीमा बाँध बाँधेर चार हजार एक सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युतगृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् ।
चिलिमे जलविद्युत कम्पनीको भगिनी संस्था रसुवागढी जलविद्युत कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत प्राधिकरण र स्थानीय निकायसमेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।
FACEBOOK COMMENTS