काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका क्रममा अभद्र व्यवहार गर्ने दुई जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा डोटीको आदर्श गाउँपालिकाका २१ वर्षीय अशोक साउद र डोटीकै दीपायल सिलगढी नगरपालिकाका १९ वर्षीय गणेश साउद रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा यही पुस ६ गते भएको जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीचको खेलपछि केही व्यक्तिहरूबीच झगडा भएको थियो । त्यसक्रममा केही व्यक्तिले अपमानजनक शब्द प्रयोग गर्ने, साम्प्रदायिक सद्भाव बिगार्न खोज्ने तथा विभिन्न व्यक्तिलाई अभद्र व्यवहार गरेको सम्बन्धमा विभिन्न निकाय तथा सञ्चार माध्यममार्फत र पीडितका जाहेरीका आधारमा अनुसन्धान गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको उनले जानकारी दिए ।
FACEBOOK COMMENTS