काठमाडौं । ललितपुरकाे महालक्ष्मी नगरपालिकामा युनाइटेड युथ क्लबले शहीद दिवसका अवसरमा बुधबार आयोजना गरेको खुला म्याराथन प्रतियोगितामा मिणमर सिन्जी तामाङ प्रथम भएका छन् ।
निर्धारित दूरी ५ किलोमिटर सबैभन्दा कम समयमा पार गर्दै तामाङ प्रतियोगितामा प्रथम हुन सफल भएका हुन् ।
यस्तै, अजितकुमार यादव दोस्रो र नरेन्द्रसिंह रावत तेस्रो भएका छन् ।
क्लबका अध्यक्ष पवन शाहीको सभापतित्व तथा महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित सामारोहबीच प्रतियोगिताको उद्घाटन गरिएको थियो । कार्यक्रममा स्थानीय नेता, समाजसेवी तथा युवा समूहको उल्लेखनीय उपस्थिति थियो ।
शहीदहरूको सम्मानमा म्याराथन आयोजना गरिएको र यसमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ नगद पुरस्कार प्रदान गरिएको क्लबकी कोषाध्यक्ष पृथविन्दु महर्जनले जानकारी दिइन् । उनका अनुसार प्रतियोगितामा ३०० भन्दा बढीको सहभागिता थियो ।
समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापित युनाइटेड युथ क्लबले युवाहरूलाई सक्षम बनाउँदै भविष्यका लागि सशक्त नेतृत्व तयार गर्ने लक्ष्य लिएको छ । क्लबले भविष्यमा समाजसेवा र विकासलाई केन्द्रमा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको कोषाध्यक्ष महर्जनले बताइन् ।
FACEBOOK COMMENTS