नेपाल सरकारले आयोडिनको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यले फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रूपमा घोषणा गरेको छ । युनिभर्सल साल्ट आयोडाइजेशन (यूएसआई) को सदस्य राष्ट्रका हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई ‘आयोडिन मन्थ’ का रूपमा मनाउने गरिन्छ । नेपालमा साल्ट ट्रेडिङ कर्पोरेशनले आयोडिनयुक्त नुन आपूर्ति गर्दैै आएको छ । सरकारको निर्देशनअनुसार आयोडिनको कमीले हुने असरबारे जनचेतना जगाउन कर्पोरेशनले विभिन्न कार्यक्रमसहित ‘आयोडिन मन्थ’ मनाउने गरेको छ ।
आयोडिनको महत्त्व
मानिसको शारीरिक तथा मानसिक विकासका लागि विभिन्न किसिमका पोषणयुक्त तत्त्वहरूको आवश्यकता पर्दछ । तिनै तत्त्वहरूमध्ये आयोडिन पनि एक हो । आयोडिनले शारीरिक र मानसिक विकासमा सहयोग गर्नुका साथै रोगहरू लाग्नबाट पनि बचाउँछ । एक स्वस्थ व्यक्तिलाई दैनिक औसत १५० माइक्रोग्राम आयोडिन आवश्यक पर्ने चिकित्सकहरू बताउँछन् ।
हाम्रो भान्छामा दैनिक नुनको प्रयोग हुन्छ । यसका लागि हामीले आयोडिन मिसाइएको नुन प्रयोग गर्नु प्रभावकारी हुन्छ । आयोडिनले थाइराइड ग्रन्थिलाई सुचारू रूपमा काम गर्न मद्दत गर्छ । गर्भावस्थादेखि दुई वर्षको उमेरसम्मको समयमा मानिसको दिमागको ८० प्रतिशत विकास हुन्छ । यस अवस्थामा आयोडिनको कमी भएमा मानसिक र शारीरिक विकासमा गम्भीर असर पर्न सक्छ ।
नेपाल सरकारले आयोडिनयुक्त नुनलाई प्रमाणित गर्न ‘दुई बालबालिकाको चिह्न’ लागू गरेको छ । यो चिह्न भएको नुनमा सही मात्रामा आयोडिन हुन्छ र यसले हाम्रो शरीरलाई आवश्यक पोषण प्रदान गर्छ । ढिके वा खुल्ला नुनमा आयोडिनको मात्रा अपर्याप्त हुन्छ र यसले स्वास्थ्यलाई फाइदा पुर्याउँदैन।
आयोडिनयुक्त नुनका फाइदाहरू
गर्भावस्थामा : गर्भवती महिलाले आयोडिनयुक्त नुन खाँदा गर्भमा रहेको बच्चाको शारीरिक र मानसिक विकासमा सकारात्मक असर पर्छ । यसले गर्भपात, मृत बच्चा जन्मने र बच्चा तुहिने जस्ता समस्याहरूबाट बचाउँछ ।
बाल्यावस्थामा : बालबालिकाको दिमागीय र शारीरिक विकासमा आयोडिनले ठूलो भूमिका खेल्छ । यसले उनीहरूलाई फुर्तिलो, तन्दुरूस्त र बुद्धिमान बनाउँछ ।
किशोरावस्थामा : किशोर-किशोरीहरूको आईक्यू लेवल बढाउन आयोडिनयुक्त नुनले मद्दत गर्छ । यसले उनीहरूको पढाइ र अन्य क्रियाकलापमा सकारात्मक प्रभाव पार्छ ।
सबै उमेरमा : आयोडिनयुक्त नुनले गलगाँड (कण्ठरोग), हाइपोथाइराइडिजम र अन्य स्वास्थ्य समस्याहरूबाट बचाउँछ ।
आयोडिनयुक्त नुन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरू
१. दुई बालबालिकाको चिह्न भएको नुन मात्र प्रयोग गरौं ।
२. नुनलाई घाम र पानीबाट जोगाऔं ।
३. तरकारी पाकिसकेपछि मात्र नुन राख्ने गरौं ।
४. नुन राखिसकेपछि तरकारीलाई ढाकेर राखौं ।
FACEBOOK COMMENTS