ऊर्जामन्त्री खड्का र भारतका जलशक्तिमन्त्रीबीच भेट, पञ्चेश्वर आयोजना अगाडि बढाउनेबारे छलफल
कर्पोरट खबर
1:34 pm, बिहीबार, फाल्गुन १, २०८१
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ ।
‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँ दिल्ली पुगेका मन्त्री खड्काले आज भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँ दिल्लीमा भेटवार्ता गरेका हुन् ।
भेटमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको डीपीआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ उर्जाविज्ञ प्रवल अधिकारीले जानकारी दिए ।
भेटमा टनकपुरदेखि नेपाल-भारत सिमानासम्मको लिङ्क नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधिलाई चाँडै अन्तिम रूप दिई महाकाली सन्धिअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै, बाढी र डुबान व्यवस्थापनका लागि संयुक्त समितिको १४औँ बैठक आगामी मार्च २२ देखि २४ सम्म गर्ने र यसका लागि मन्त्रालयबाट औपचारिक पत्राचार गर्ने सहमति भएको छ ।
यसैगरी, सप्तकोशी बहुउदेश्यीय आयोजनाको डीपीआर सम्बन्धमा पनि दुई पक्षीय बैठकहरूमार्फत छलफल अगाडि बढाउने सहमति भएको छ । ऊर्जामन्त्री खड्काले गत ५ नोभेम्बरमा भएको भेटघाट र छलफलले दुई देशको सहकार्यमा जलस्रोतको क्षेत्रमामा महत्त्वपूर्ण कार्यहरूका लागि अघि बढ्न थप हौसला प्रदान गरेको स्मरण गरे ।
भेटमा भारतका जलशक्तिमन्त्री पाटिलले पञ्चेश्वर आयोजनाको डीपीआरलाई चाँडो अन्तिम रूप दिन र उक्त आयोजनालाई चाँडो अगाडि बढाउन भारत सरकार सकारात्मक रहेको बताए ।
भेटमा मन्त्री खड्कासँगै मन्त्रालयका सचिव सुरेश आचार्य, वरिष्ठ ऊर्जाविज्ञ प्रवल अधिकारी, मन्त्रालयका सहसचिव सन्दीपकुमार देव, मन्त्री खड्काका आर्थिक सल्लाहकार अमित श्रेष्ठलगायत सहभागी थिए ।
FACEBOOK COMMENTS