काठमाडौं । पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनमा नयाँपन र सिर्जनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा यस क्षेत्रका जानकारहरुले राखे ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गरेको ‘चेन्जिङ ट्रेन्ड्स स् रिथिङ्किङ नेपाल्स टुरिजम’ विषयक कार्यक्रमका वक्ताहरुले पर्यटन क्षेत्रमा सिर्जनात्मकता र नयाँपन जोड्नसके पर्यटन फस्टाउने धारणा राखेका हुन् ।
कार्यक्रममा विश्व प्रसिद्ध हङ्कङ पोलिटेक्नकल विश्वविद्यालयका प्राध्यापक काये चोन प्रमुख वक्ताका रुपमा रहेका थिए । उनले विश्वमा पर्यटनको शैली बढ्न थालेको सन् १९५० देखि आगामी सन् २०३० सम्मको अवस्थामा केन्द्रित भएर आफ्नो प्रस्तुतीकरणलाई चित्रण गरे ।
विश्व पर्यटनको रुपान्तरण केन्द्र यूरोपबाट भएको स्मरण गर्दै उनले संसारभर पर्यटनको शैलीको सुरुवात अन्तरदेशीय ट्राभलबाट हुन थालेको उल्लेख गरे । पर्यटन विकासको सुरुवात विश्वमा एसिया प्यासिफिकको पर्यटन शैलीमा भएको तीब्र रुपमा विकास भएको तथ्यांकले देखाएको उनको प्रस्तुतीकरणले उल्लेख गरेको छ ।
पर्यटनको महत्वपूर्ण अंग मानिने होटलको विकासमा समेत विश्वभरको होटल निर्माणमा एसिया प्यासिफकको हिस्सा सबैभन्दा बढी देखिएको छ । यो क्षेत्रमा ४८ प्रतिशत होटल निर्माण भएको देखिन्छ । पर्यटकीय सेवाका लागि स्थापना भएका यस्ता होटलको विकास गर्नमा अमेरिका एक्लैले विश्वको १६ प्रतिशत हिस्सा ओगटेको पनि चेनले प्रस्तुत गरेको उक्त प्रस्तुतीकरणको तथ्यांकमा उल्लेख छ ।
पर्यटन विकासमा एसिया क्षेत्रले महत्वपूर्ण योगदान गरेको पनि भनाइ छ । विश्वमा पर्यटन विकासमा होटलसँगै उत्कृष्ट विमानस्थलमध्येका अधिकांश एसियामै रहेको छन । पर्यटनमा एसिया क्षेत्रको उत्कृष्ट योगदान रहेको तथ्य उल्लेख गर्दै उनले एसियाको हस्पिटालिटी विश्वकै ‘बेस्ट एण्ड युनिक’ भएको पनि तर्क पनि उनले पेश गरे ।
पर्यटन विकासको क्रममा ‘एसियननेस’ पर्यटनको विकास विश्वमै फरक देखिएको उल्लेख गर्दै उनले नयाँ सिर्जना गर्न सकिएको अवस्थामा पर्यटक क्षेत्रलाई थप आकर्षक बनाउन सकिने तर्क पेश गरे । उनले पर्यटनमा नयाँपन तथा नयाँ बाटो आवश्यक जहाँ अवलम्बन हुन्छ त्यहिँको पर्यटन विकासले गति लिने बताए ।
विश्वमा अहिलेसम्म निलो समुन्द्र नै धेरै चल्ने पर्यटनको गन्तव्यको रुपमा विश्वभरी परिचित भइरहेको छ । यसलाई नयाँपन र सिर्जना दिन सकिएको अवस्थामा मात्रै पर्यटकीय गन्तव्यले विकासमा महत्वपूर्ण भूमिका पर्यटनले नै खेल्न सक्ने पनि चोनले उल्लेख गरे ।
पर्यटनको विकासमा उत्कृष्ट संस्कृतिको विकास पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसका लागि पर्यटन व्यापारलाई हाँक्न ग्राहक तथा कर्मचारीको सन्तुष्टि, उत्कृष्ट सेवा र आतिथ्यता नै भएको बुझाई उनको छ । आतिथ्यता क्षेत्रमाको पछिल्लो चुनौति मानव संशाधनको अभाव भएको पनि उनले उल्लेख गरे । उनले वर्क लाइफको सन्तुलन मिलाउनु महत्वपूर्ण भएको बताए । परिवारले करियर विकासमा महत्व दिनु, आत्म चाहना, सामाजिक सञ्जाल यसको प्रयोग, सक्षम नेतृत्वको निर्देशनसहितले पनि पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
उनले सन् २०२४ को एक सर्र्वेक्षणले एक सय जनामध्ये ५९ प्रतिशतले काम छोड्ने र ४१ प्रतिशत जनशक्तिले मात्रै होटल तथा आतिथ्यता क्षेत्रमा क्रियाशील भएको तथ्य प्रस्तुत गरेका छन् । यस्तो तथ्यांक अन्य क्षेत्रमा काम गर्ने भन्दा छोड्ने जनशक्ति बढी हुँदा एउटै क्षेत्रमा केन्द्रित भएर निरन्तर काम गर्ने जनशक्ति कम हुने गरेको देखाउँछ ।
भोलिको भविष्य आज नै देखिन सकिने भएकोले अवको आवश्यकता डिजिटल ट्रान्स्फरमेसन हो । यसका लागि प्रविधिलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने चुनौति बढेको छ ।
FACEBOOK COMMENTS