सिन्धुली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आकार सानो बनाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं १ सिन्धुलीको प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले सङ्घीय सरकारको मन्त्रालय सङ्ख्यालाई घटाएर १०–१२ वटा मात्र बनाउनुपर्ने सुझाव दिए । “ मन्त्रालयको सङ्ख्या धेरै हुनु समस्या हो, सरकार सानो बनाउनुपर्छ”, उनले भने ।
महामन्त्री थापाले सङ्घमा संसदीय व्यवस्था उपयुक्त रहेको तर प्रदेशमा प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री प्रणाली लागू गर्नुपर्ने बताए । उनले भने, “प्रदेशमा मुख्यमन्त्रीलाई प्रत्यक्ष निर्वाचित गर्ने र अधिकतम पाँच मन्त्री राख्न दिने व्यवस्था गर्नुपर्छ ।” प्रदेश सरकारलाई आर्थिक र प्रशासनिक रूपमा अधिकारसम्पन्न बनाउनुपर्नेमा उनले जोड दिए ।
महामन्त्री थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे सरकारको चासोलाई अनावश्यक भन्दै त्यसको आलोचना गरे । “तीन–चार महिनापछि सेवानिवृत्त हुन लागेका व्यक्तिको पछि लागेर सरकार किचकिच गरिरहेको छ, यो बेठिक हो”, उनले भने, “पचास राम्रो काम गर्दा एउटा नराम्रो भयो भने त्यसले सबै राम्रा काम छोपिदिन्छ । राम्रो गर्न सकिँदैन भने कम्तीमा नराम्रो काम नगर्नोस् ।”
मन्त्रीहरूलाई सही मार्गमा लैजान महामन्त्री थापाले प्रधानमन्त्रीसँग आग्रहसमेत गरे । “प्रधानमन्त्री भनेको मन्त्रिपरिषद्को नेतृत्वकर्ता हो । राम्रो कामको श्रेय पनि प्रधानमन्त्रीले पाउँछन्, नराम्रो कामको अपजस पनि लिनुपर्छ” उनले भने । सङ्घीयताको मर्मअनुसार प्रदेशलाई थप अधिकार दिनुपर्ने र सरकारको कार्यसम्पादन सुधार गर्नुपर्ने उनको धारणा थियो ।
FACEBOOK COMMENTS