काठमाडौं । राप्रपा नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् ।
मुलुकमा राजसंस्थाको पुनर्स्थापनाबारे व्यापक चर्चा र बहस भइरहेका बेला अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत लोकतन्त्रको विकल्प राजतन्त्र र निरङ्कुशता हुन नसक्ने बताएका छन् । उनले राजासहितको लोकतन्त्र आवश्यक रहेको चर्चा गर्दै लोकतन्त्रलाई जवाफदेशी नबाउने प्रयत्नमा जनता जागिरहेको पनि बताएका छन् ।
‘लोकतन्त्रको विकल्प राजतन्त्र होइन र हुन सक्दैन । त्यो सबैले बुझेका छन् । जनताले लोकतन्त्रको सट्टा निरङ्कुशता खोजेका होइनन् । जनताले लोकतन्त्रको विकल्प खोजेको पनि होइन, राजासहितको लोकतन्त्र खोजेको हो,’ उनले भनेका छन् ।
लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प जनताले खोजेको उनको भनाइ छ । ‘लोकतन्त्रको नाममा हाल कायम छाडातन्त्र, सिण्डिकेटतन्त्र र लुटतन्त्रको विकल्प खोजेको हो । मर्यादित र जवाफदेही लोकतन्त्र खोजेको हो ।’
राजासहितको प्रजातन्त्र विश्वमै सर्वाधिक सफल भएको चर्चा गर्दै बेलायत, जापान र नर्वेलगायत मुलुकको उदाहरण पनि पेस गरेका छन् । ‘राजासहितको प्रजातन्त्र विश्वमा सर्वाधिक सफल प्रजातन्त्र मानिन्छ । बेलायत, जापान, नर्वे लगायतका कैयौं मुलुक त्यसको ज्वलन्त उदाहरण हुन्,’ उनले भने, ‘जनताले चाहेको त्यस्तै प्रजातन्त्र हो । त्यसैले सच्चा लोकतन्त्रवादीले राजा आउँदा आत्तिनु पर्दैन ।’
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS