काठमाडौं । समावेशिता र पहुँच प्रवद्र्धन गर्ने उद्देश्यका साथ जगदम्बा मोटर्सले भारतीय राजदूतावाससँगको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूलाई पाँच ओटा टीभीएस एनटर्क स्कुटर हस्तान्तरण गरेको छ ।
स्कूटर हस्तान्तरणका लागि आयोजित उक्त कार्यक्रम भारतीय राजदूतावास कल्याण केन्द्र, शोह्रखुट्टेमा सम्पन्न भएको थियो ।
उक्त अवसरमा भारतीय राजदूतावासका विशिष्ट अतिथि मेजर नवीन जानु, एसएम असिस्टेन्ट मिलिटरी, टिभीएस मोटर कम्पनीका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । हस्तान्तरण गरिएका स्कुटरहरू मार्फत उनीहरूले अब स्वतन्त्रतापूर्वक आवतजावत गर्ने सहजताको अनुभव गर्न सक्ने आशा गरिएको छ ।
टीभीएस एनटर्क, उत्कृष्ट प्रविधि, सहज सञ्चालन प्रणाली र मजबुत डिजाइनका लागि परिचित छ । तसर्थ, सहयोगले लाभग्राहीहरूका लागि आत्मविश्वासमा वृद्धिका साथै, दक्षताका साथ दैनिक जीवन सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
जगदम्बा मोटर्सले सधैं सामाजिक उत्तरदायित्वलाई पहिलो प्राथमिकतामा राख्दै आएको छ । कम्पनी, समुदायलाई सशक्त पार्ने तथा नवीनतम गतिशील समाधान उपलब्ध गराउने उद्देश्यका साथ विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ । भारतीय राजदूतावाससँगको सहकार्यले समावेशी समाज निर्माण गर्ने टिभीएसको प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीको भनाइ छ ।
‘हाम्रो मान्यता छ कि गतिशीलता केवल सुविधा मात्र होइन, यो एक मौलिक अधिकार हो । प्रत्येक व्यक्तिलाई, आफ्नो शारीरिक क्षमताको पर्वाह नगरी, हिँडडुल गर्ने, अन्वेषण गर्ने र आफ्नो सपना पूरा गर्ने स्वतन्त्रताको हकदार छ । आज, हामी अपांगता भएका व्यक्तिहरूका लागि विशेष रूपले डिजाइन गरिएका स्कूटरहरूको प्रस्ताव गर्ने हाम्रो पहलको सुरुवातसँगै समावेशीता र सशक्तिकरणतर्फ महत्वपूर्ण कदम चाल्न पाउँदा हामी गर्वित छौं,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक, अखिल गुप्ताले भने ।
यस सहयोगात्मक प्रयासले सामाजिक उत्थानका लागि भविष्यमा पनि यस्ता अभियानहरू सञ्चालन गर्न मार्ग प्रशस्त गर्ने विश्वास लिइएको छ । कार्यक्रमको समापन लाभग्राहीहरूलाई टिभीएस एनटर्क स्कुटर हस्तान्तरण गर्दै गरिएको थियो । यसले उहाँहरूको जीवनमा नयाँ सुरुवातको संकेत गरेको आयोजकको विश्वास छ ।
FACEBOOK COMMENTS