काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छन् । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजेका लागि निर्धारण गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० टेबुल गरिने कार्यसूची छ । उक्त विधेयक राष्ट्रियसभाबाट सन्देशसहित प्रतिनिधिसभामा आएको हो ।
त्यस्तै, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् । साथै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।
यता, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव राख्नेछन् ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी ऐन संशोधन विधेयक, २०८१ माथि दफावार छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
हाल संसद्मा विपक्षी दलहरूको लगातार अवरोध रहेकाले आजको बैठक पनि निर्धारित कार्यसूचीअनुसार अघि बढ्नेमा अनिश्चितता कायमै छ । विपक्षी दलहरूले मुख्यतः नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारी निर्णयको विरोधमा संसद्मा अवरोध गरिरहेका हुन् ।
FACEBOOK COMMENTS