काठमाडाैं । भारतले २४ देखि ३६ घण्टाभित्र पाकिस्तानमा आक्रमण गर्न सक्ने खुफिया सूचना पाएको पाकिस्तानका सञ्चारमन्त्री अताउल्लाह तरारले बताएका छन् ।
भारतको जम्मू–कश्मीरस्थित पहलगाममा वैशाख ९ गते नेपालका सुदीप न्यौपानेसहित २६ जनाको ज्यान जाने गरी आतङ्कवादी हमला भएको थियो । उक्त हमलामा पाकिस्तानको संलग्नता रहेको दाबी भारतको छ ।
सोही आधारमा भारतले पाकिस्तानमाथि आक्रमण गर्न लागेको पाकिस्तानले दाबी गरेको हो । मन्त्री तरारले सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै यस्तो दाबी गरेका हुन् ।
भिडिओमा उनले भनेका छन्, ‘आधारहीन र मनगढन्ते आरोपको बहानामा भारतले आगामी २४–३६ घण्टाभित्र पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने योजना बनाएको पाकिस्तानसँग विश्वसनीय गुप्तचर जानकारी छ ।’
उनले भारतले कुनै पनि प्रकारका सैन्य कारबाही गरे पाकिस्तानले त्यसको जवाफ दिने र ती सबैको जिम्मेवार भारत हुने चेतावनी पनि दिएका छन् ।
जम्मू–कश्मीर हमालको जिम्मा ‘द रेसिस्टेन्ट फ्रन्ट (टीआरएफ)’ नामक आतङ्कवादी समूहले लिएको थियो ।
हेर्नुहाेस् भिडिओ
FACEBOOK COMMENTS