काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गमा ऐक्यबद्धता प्रकट गरेका छन् ।
मुलुकमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त गरेका सङ्घर्ष र बलिदानको स्मरण गर्दै सन्देशमा उनले त्यसको परिणामस्वरूप आज देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कायम भएको बताएका छन् ।
सन्देशमा उनले ‘सुशासन, सामाजिक न्याय र समृद्धिको आकाङ्क्षासहित मुलुकलाई अघि बढाउनु आजको कार्यभार हो । आर्थिक समृद्धिसहितको नेपाली विशिष्टताको समाजवादी कार्यदिशाका साथ अघि बढ्नु आजका दिनमा नेपाली श्रमजीवी वर्गको आफ्नो मौलिक पहिचान हो’ भनेका छन् ।
आठ घण्टा कार्यदिनको मागसहित आफ्ना अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदुरहरूले गरेको सङ्घर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदुरहरूले १ मेलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रूपमा मनाउँदै आएका छन् ।
FACEBOOK COMMENTS