काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरू लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन् ।
एक सय ३६औँ अन्तर्राष्ट्रिय मजदुुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जी–फन्ट) द्वारा आज आयोजित कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्य प्राप्तिमा गतिशील हुन आग्रह गरेका हुन् ।
फालिएको राजतन्त्र पक्षधरहरूको अराजकता गत चैत १५ को तीनकुने हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिको ओलीले बताए । उनीहरूको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्नेजस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरूले फेरि फर्कने कुचेष्टा गरिरहेको ओलीको भनाइ छ ।
‘शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरूको हातमा शासन सत्ता पुुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरूले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन्,’ उनले भने ‘हामीले त्यस्तालाई जवाफ दिन सक्नुुपर्छ । यसमा श्रमजीवी वर्ग विगतमा झैँसचेत हुनुपर्छ ।’
‘हामी समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेका छौँ । हामीले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा हामीले गर्छौँ,’ प्रधानमन्त्रीले थपे, ‘हाम्रो झण्डा ख्यालख्यालमा रातो भएको होइन, मजदुरहरूले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो । बलिदानबाट निस्किएका झण्डाहरू राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रङ रहेको छ । हामी संघर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ ।’
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, नेपाल उद्योग वणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतले श्रमिक दिवसका अवसरमा सम्बोधन गरेका थिए ।
FACEBOOK COMMENTS