काठमाडौं । नेकपा (माओवादी केन्द्र) सांसद देवेन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ जस्तो भएको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको आज मङ्गलबारको बैठकमा बोल्दै उनले नीति तथा कार्यक्रममा रोजगार, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, पर्यटन, उद्योग व्यवसाय कुनै पनि क्षेत्रका लागि स्पष्ट खाका र चित्र नरहेको बताए ।
उनले नीति तथा कार्यक्रम कस्तो बनाउने भनेर प्रतिपक्षलाई नसोधिएकोमा असन्तुष्टि व्यक्त गरे ।
‘नीति तथा कार्यक्रम ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ जस्तो छ । आउन त आयो, खुसी भएर ताली ठोकौँ भने प्रस्ट चित्र छैन,’ उनले भने, ‘दुई तिहाइको बलियो सरकारले नीति तथा कार्यक्रम कस्तो ल्याउने भनेर प्रतिपक्षलाई सोधेको भए के बिग्रिन्थ्यो ? नीति, कार्यक्रम, बजेट, समाजवाद निर्माण गर्ने कुरा त सबैको साझा विषय होला नि ?’
देश विकासको कुरा साझा एजेण्डा भएकाले यसमा सत्तापक्ष र प्रतिपक्ष भन्ने विषय नहुने पौडेलले बताए ।
‘देश निर्माण गर्ने कुरा सत्तापक्ष र प्रतिपक्षको कुरा होइन । देश निर्माण गर्ने महत्त्वपूर्ण कुरा साझा एजेण्डा हो,’ उनले भने, ‘साझा एजेण्डा, साझा प्रतिबद्धताका निम्ति, राष्ट्रिय गौरवका योजनाहरूका निम्ति, रोजगारी सिर्जना गर्नका निम्ति सरकारले उदारतापूर्वक सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा राष्ट्र निर्माण गर्ने सपना, हुटहुटी, उद्देश्य, लक्ष्य लिएर आउन सक्नुपर्थ्यो । नीति तथा कार्यक्रमले त्यो बोलेन ।’
FACEBOOK COMMENTS