काठमाडौं । पछिल्लो समय सरकारी निकायहरूलाई राजनीतिक नियुक्तिको भर्तीकेन्द्र बनाउने मात्र नभइ विवादित व्यक्तिलाई नियुक्ति दिने थलोका रूपमासमेत प्रयोग गर्न थालिएको छ ।
पछिल्लो समय शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा सरकारले दिन लागेको भनिएको नियुक्तिलाई उल्लेखित प्रसङ्गको दृष्टान्तकारूपमा लिन सकिन्छ । मुटु रोगसम्बन्धी डाक्टरहरूले निकै दुःख र मेहनतका साथ स्थापना गरेको शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र रजानीतिक नियुक्ति र खराब व्यक्तिको दबदबाकै कारण तहसनहस बन्ने खतरा सृजना भएको छ । यो केन्द्रलाई पनि राजनीतिक भर्तीकेन्द्र हुँदै विवादित व्यक्तिलाई नियुक्ति दिने थलोकारूपमा प्रयोग हुने खतरा बढ्न थालेपछि आम चिन्तासमेत थपिएको छ ।
अस्पताल सञ्चालक समितिको रिक्त सदस्य पदमा डा. चन्द्रमणि अधिकारीलाई सरकारले नियुक्ति गर्न लागेको समाचार बाहिरिएपछि आम चिन्ता र चासो मात्र होइन नियुक्तिपूर्वै सरकारको समेत आलोचना हुन थालेको छ ।
विगतमा अस्पताल सञ्चालक समितिको निर्णयकै अवज्ञा गर्ने व्यक्ति डा. चन्द्रमणि अधिकारीलाई सोही सञ्चालक समिति सदस्य नियुक्ति गर्न खोजिएपछि सरकारको आलोचना सुरू भएको हो । यसअघि सोही अस्पतालको कार्यकारी निर्देशक रहँदा अधिकारीले बोर्डको निर्णय नमान्नेदेखि आफूखुसी ठेक्का लगाउनेसम्मका काम गरेर अस्पतालको छवी बिगारेका थिए । अहिले उनैलाई सञ्चालक नियुक्ति गर्न खोजिएपछि सरकारमाथिसमेत प्रश्नहरू उठ्न थालेको हो ।
गंगालाल राष्ट्रिय हृदय केन्द्रको रिक्त सञ्चालक समिति सदस्यमा विवादित व्यक्तिको छवी बनाएका डा. अधिकारीलाई नियुक्ति दिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सक्रिय रहेको पाइएको छ । हाल अस्पतालमा कन्सल्टेन्ट कार्डियोलोजिष्ट पदमा कार्यरत अधिकारीलाई समितिको सदस्य नियुक्त गर्न मन्त्री पौडेललाइ पनि प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिएको स्रोत बताउँछ ।
एमालेनिकट भनेर चिनिने डा. अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत प्रलोभनमा पारी नियुक्ति लिने प्रयास गरिरहेका छन् । प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीलाई प्रभावमा पारी नियुक्ति लिने र अस्पतालमा आफ्नो विरोध गर्नेहरूलाई ठेगान लगाउने उनको रणनीति रहेको निकटस्थहरू बताउँछन् । तर, पछिल्लो समय उनको विवादित छविबारे जानकारी पाएका प्रधानमन्त्री र स्वास्थ्यमन्त्री भने दोधारमा परेको बताइएको छ ।
विभिन्न मुद्दा मामिलामा मुछिएर विवादमा तानिएका व्यक्ति हुन् डा. चन्द्रमणि अधिकारी । कतिपय मुद्दा त अहिले पनि सर्वोच्च अदालतमा विचाराधीन छन् । उनले यसअघि अस्पतालको कार्यकारी निर्देशक हुँदा अस्पतालमा कार्यरत विशेषज्ञ डाक्टरहरूमाथि गैरकाुननी र अस्वाभाविक व्यवहार गर्नेदेखि सञ्चालक समितिको निर्णय अवज्ञा गर्नेसम्मको हर्कत देखाएर अस्पताललाई नै तहसनहस बनाएका थिए ।
उनले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री स्वयम् अध्यक्ष रहेको अस्पताल सञ्चालक समितिविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन र सोसम्बन्धी मुद्दा अहिले पनि विचाराधीन छ । सञ्चालक समितिविरुद्धनै मुद्दामामिलामा सक्रिय रहेका डा. अधिकारीलाई सोही समितिमा सदस्य बनाउनु ‘कन्ल्फिक्ट अफ इन्ट्रेष्ट’ हुने र आफ्नो मुद्दामा आफैं न्यायाधीश बन्ने खतरा सृजना हुने देखिन्छ ।
सञ्चालक समिति सदस्यको नियुक्ति लिन उनले सरकार र स्वास्थ्यमन्त्रीलाई समेत प्रभावमा पारिसकेको समाचार स्रोतको दाबी छ । सञ्चालक समिति सदस्यको नियुक्ति लिएर उनले सर्वोच्च अदालतमा विचाराधीन मुद्दा सञ्चालक समितिबाटै आफ्नो पक्षमा पार्ने षडयन्त्र गरिरहेको स्पष्ट देखिन्छ । उनको स्वार्थपूर्ण षडयन्त्रबाट अस्पताल सञ्चालक समितिका अध्यक्ष समेत रहेका स्वयम् स्वास्थ्यमन्त्री पौडेल र मन्त्रिपरिषद् जोगिनपर्ने अवस्था सृजना भएको छ ।
गंगालालमा विवादित व्यक्तिलाई सञ्चालक समिति सदस्य बनाउन स्वास्थ्यमन्त्री पौडेल सक्रिय
डा. अधिकारीका कर्तुतहरूबारे यसअघिका यी समाचारहरू पनि पढ्नुहोस्–
गंगालाल अस्पतालको मनोमानी प्रकरण : सर्वोच्च अदालतले लगायो निर्देशक अधिकारीमाथि लगाम
FACEBOOK COMMENTS