काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले ऊर्जामन्त्री दीपक खड्काप्रति उत्पट्याङ र आक्रोशित अभिव्यक्ति दिएका छन् ।
लोडसेडिङको तालिकाबिनै पटक–पटक बिजुली काटिएको र आफ्नो कामहरू सबै प्रभावित बनेको भन्दै उनले ऊर्जामन्त्री खड्काप्रति कडा अभिव्यक्ति दिएका हुन् ।
उनले ऊर्जामन्त्री खड्कालाई ‘पापी’ र ‘दृष्ट’ शब्दले आरोपित गर्दै पदबाट तत्काल हटाउनुपर्नेसमेत बताएका छन् । ‘ ऊर्जामन्त्री जस्तो दिउँसै रात पार्ने पापीलाई संयुक्त बृहत् जनआन्दोलन गरेर नहटाउने हो भने देश डुब्नेछ,’ उनले भनेका छन्, ‘त्यस्तो दृष्ट (नाङ्गिएको) व्यक्तिलाई हटाउने कांग्रेस पार्टीले अथवा प्रधानमन्त्रीले हो । तर, उनीहरुले हटाउने छाँटकाँट देखिएन । बृहत जनआन्दोलन अन्तिम उपाय देखियो ।’
वीरगञ्ज कृषि औजार कारखाना र कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रमा बारम्बार बत्ती गइरहेपछि उनले ऊर्जामन्त्री खड्कामाथि उक्त आक्रोश व्यक्त गरेका हुन् । ‘वीरगञ्ज कृषि औचार कारखानामा र राष्ट्रिय आविष्कार केन्द्र कीर्तिपुरमा झ्याप झ्याप बत्ती गइरहन्छ । भाइबहिनीहरूले काम गर्न पाउँदैनन्,’ उनले भनेका छन्, ‘१५ र ३० केभीएको डिजेल जेनेरेटर चलाएर काम गर्नुपरिरहेको छ । त्इसो हुँदा रिस नउठेर के माया लाग्छ त मन्त्रीको ?’
ऊर्जामन्त्रीको एकोहोरो जोडबलमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको र त्यसपछि बत्ती गइरहने समस्या सृजना भएको भन्दै आमरूपमा मन्त्री खड्काको आलोचना भइरहेको छ । त्यसैक्रममा पुनले पनि आफ्नो आक्रोश व्यक्त गरेको स्पष्ट बुझिन्छ ।
FACEBOOK COMMENTS