काठमाडौं । उत्तर कोरियाले अमेरिकाको ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको कडा विरोध गरेको छ । यो परियोजनालाई उसले ‘धेरै खतरनाक र धम्कीपूर्ण’ पहल भनेको छ ।
उत्तर कोरियाली विदेश मन्त्रालयअन्तर्गत काम गर्ने अमेरिकी अध्ययन संस्थानले यो परियोजनालाई अमेरिका पहिलो सोच, अहङ्कार र मनमानीपनको उदाहरणको रूपमा वर्णन गरेको छ । साथै, उत्तर कोरियाले यो अन्तरिक्षबाट आणविक युद्ध सुरु गर्ने तयारीजस्तै भएको पनि बताएको छ ।
मे २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोल्डेन डोम मिसाइल डिफेन्स सिस्टम प्रोजेक्टको डिजाइनलाई अनुमोदन गरेका थिए । यसका लागि एक प्रमुख नेता पनि नियुक्त गरियो । यो परियोजनाको लागत लगभग १७५ अर्ब डलरको छ र यसको उद्देश्य अमेरिकालाई क्षेप्यास्त्र आक्रमणबाट जोगाउनु रहेको बताइएको छ ।
यस वर्ष मार्चमा अमेरिकी संसद्मा दिएको भाषणमा अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलको आइरन डोम सुरक्षा ढालको ढाँचामा आफ्नो देशमा गोल्डेन डोम निर्माण गर्ने प्रस्ताव गरेका थिए । त्यसपछि गत मङ्गलबार उनले यो प्रणाली निर्माणका लागि स्वीकृति पनि दिए । अमेरिकासँग हाल आधुनिक समयका हाइपरसोनिक क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गर्न कुनै सुरक्षा प्रणाली छैन ।
यस परियोजनाअन्तर्गत अमेरिकाले विश्वभरि सयौं उपग्रहहरूको नेटवर्क सिर्जना गर्नेछ, जसमा आधुनिक सेन्सर र इन्टरसेप्टरहरू हुने छन् । तिनीहरूको काम कुनै पनि शत्रु देशबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू उडान भर्नेबित्तिकै नष्ट गर्नु हुनेछ ।
यसअघि चीनले पनि यस परियोजनाको बारेमा आफ्नो चिन्ता व्यक्त गरिसकेको छ । चीनले अमेरिकालाई यसलाई तुरुन्तै रोक्न अपिल गरेको थियो । उत्तर कोरिया र चीन दुवैले यो परियोजनाले विश्वव्यापी शान्ति र सुरक्षामा खतरा निम्त्याउन सक्छ भन्ने धारणा राखेका छन् ।
FACEBOOK COMMENTS